Breaking News.... EverestOnlineKhabar
June 6, 2026

आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने सरकारको तयारी

Loading

काठमाडौ,२८ भदौ ।
नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ। पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति मन्त्रालयले खड्कालाई कारबाही गर्न प्रधानमन्त्री कार्यालयलाई सोमबार साँझ सिफारिस गरेको थियो। सोही सिफारिस मन्त्रिपरिषद्मा पेस गरिने स्रोतले बताएको छ।
प्रधानमन्त्री कार्यालय स्रोतले भन्योः‘आपूर्ति मन्त्रालयबाट निगमको प्रबन्ध निर्देशकलाई जग्गा खरिदमा अनियमितता गरेको ठहर्दै कारबाही गर्न सिफारिस आएको छ, सोही प्रस्ताव २ असोजका लागि तय भएको मन्त्रिपरिषद् बैठकको एजेन्डा बनाइसकिएको छ।’ मन्त्रिपरिषद्ले खड्कालाई पदमुक्त गर्ने तयारी गरेको हो ।
१४ माघ ०७१ मा निगम प्रमुख भएयता बारम्बार विवादमा तानिँदै आएका खड्कालाई आपूर्तिमन्त्री शिवकुमार मण्डल पदमुक्त गर्ने तयारीमा जुटेका छन्। मन्त्री मण्डलले खड्कालाई कारबाही गर्न कै लागि सचिव परिवर्तन गरेको बताएका छन्। निगमलाई टेन्डरबाट जग्गा खरिदको स्वीकृति दिने सञ्चालक समितिको अध्यक्षसमेत रहेका सचिव प्रेमकुमार राईलाई हटाएर मन्त्री मण्डलले कृष्णप्रसाद देवकोटालाई सचिवमा ल्याएका थिए। सचिव देवकोटाले छोटो समयमै अध्ययन टुंग्याएर निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्नुपर्ने सिफारिस गरेका हुन्।
स्रोतका अनुसार मन्त्रालयले निगम प्रमुखलाई मात्रै कारबाहीको सिफारिस गरेको छ। तर, जग्गा छनोट समितिमा निगमका निमित्त नायब प्रबन्ध निर्देशक सुशील भट्टराई, निर्देशकद्वय रविन शर्मा र विशाल ओझा तथा प्रबन्धक विजयराज सत्याल छन्। मन्त्रालयले सो समितिलाई समेत कारबाहीको तयारी गर्न लागेको छ।
आपूर्तिसचिव देवकोटाले मन्त्री मण्डलसँग सल्लाह लिएर खड्कालाई कारबाहीको सिफारिस गरेका हुन्। उनी खड्कालाई कारबाही सिफारिसको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई बुझाएर भ्रमणमा निस्किएका छन्। उनी भूमिसुधार मन्त्रालयमै छँदा सोमबार साँझ चीन भ्रमण तय भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed