![]()
काठमाडौँ । डिआइजी नवराज सिलवालले आफूलाई प्रहरी महानिरीक्षक बनाउन दायर गरेको रिट सर्वोच्च अदालतको बृहद् पूर्ण इजलासले खारेज गरेको छ। योसँगै सरकारको प्रकाश अर्याललाई आइजी बनाउने निर्णय सदर भएको छ।
सर्वोच्चको फैसलामा कार्यसम्पादन मूल्याङ्कनमा प्रकाश अर्याल नै नवराज सिलवालभन्दा अघि देखिएको उल्लेख छ। यसअघिको फैसलामा भने सिलवाल अघि रहेको उल्लेख थियो। फैसलामा अर्यालको कार्यसम्पादन मूल्याङ्कन नम्बर ५४.२ रहेको उल्लेख छ भने सिलवालको ५२.४ मात्र छ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ भएको थियो। पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खड्का, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य थिए।
सरकारले जयबहादुर चन्दलाई महानिरीक्षक बनाउन गरेको निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्य सम्पादन, मूल्याङ्कन र वरिष्ठतामा डिआइजी नवराज सिलवालअगाडि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश गरेको थियो।
आदेशविपरित सरकारले चैत २८ गते महानिरीक्षकमा प्रकाश अर्याललाई नियुक्ति गरेको थियो। उक्त नियुक्तिविरुद्ध सिलवाल पुनः सर्वोच्च पुगेका थिए।


