![]()
काठमाडौ,२५ भदौ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम व्यवस्थापनले आधा करोड रुपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ । जहाज थप्नेमात्र होइन, व्यवस्थापनमा सुधार पनि मेरो प्राथमिकता हो भन्दै आएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले कमर्सियल, कर्पोरेट, इन्जिनियरिङलगायत विभागका कर्मचारीलाई विभिन्न देश घुम्न स्वीकृति दिएका हुन् । तीमध्ये केही जाने तयारीमा छन्, केही विदेश घुम्दैछन् भने केही घुमेर फर्किसकेका छन् ।
‘महाप्रबन्धक सुगतरत्न कंसाकारले संस्थाको लाखौं रुपैयाँ खर्च गरी डेढ दर्जन कर्मचारीलाई बेअर्थी विदेश भ्रमणमा पठाएका छन् । पछिल्लोपटक उनले जे–जति र जस्ता निर्णय गरे, त्यसबाट संस्थाको मात्र नभई उनको छविमा पनि दाग लागेको छ ।’ निगमका एक उच्च कर्मचारीले भने ।
सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि महाप्रबन्धक कंसाकारले ती कर्मचारीलाई भ्रमण स्वीकृति दिएका हुन् । उनीहरूको आतेजाते हवाई टिकट, होटलमा बस्न र खाना, दैनिक भत्ता, यातायातलगायत खर्च निगमले बेहोरेको छ । भ्रमणमा विभागीय प्रमुख (निर्देशक) देखि उपनिर्देशक, प्रबन्धक, अधिकृत र त्यसभन्दा तल्लो तहका कर्मचारी छन् ।


