![]()
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई यही भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन पेस गर्न सूचना गरेको छ ।
निर्वाचन आयोगमा दर्ता रहेका दल मध्ये समानुपातिकमा भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन पेस गर्न सूचना जारी गरेको हो । निवेदन पेस गर्दा प्रतिनिधिसभा निर्वाचनका लागिमात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पस्ट खुलाउन आयोगले आग्रह गरेको छ ।
प्रदेशसभा सदस्यको निर्वाचनतर्फ सबै प्रदेशमा भाग लिने वा कुनै खासखास प्रदेशमामात्र भाग लिने हो सो समेत खुलाउनुपर्ने आयोगले जनाएको छ ।
तोकिएको म्याद भदौ २५ देखि २७ गतेभित्र निवेदन पेस नगर्ने राजनीतिक दलले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन नपाउने आयोगले स्पष्ट पारेको छ ।


