Breaking News.... EverestOnlineKhabar
June 4, 2026

प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनःआज उम्मेदवारी दर्ता

Loading

जनकपुर,२१ भदौ ।
प्रदेश २ का १ सय ३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये प्रदेश २ का आठ जिल्लाभित्रका स्थानीय तहमा मात्रै निर्वाचन बाँकी छ । तेस्रो चरणमा प्रदेश २ का गाउँपालिका र नगरपालिकामा निर्वाचन हुन लागेको हो । असोज २ मा हुने चुनावमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा नेतृत्वका लागि मतदान हुँदैछ । ती सबै तहबाट गरी ६ हजार ६ सय २७ जना जनप्रतिनिधि चुनिने छन् । मनोनयन दर्ताका लागि सबै तयारी पुरा भईसकेको निर्वाचन आयोगले जनाएको छ ।
कांग्रेस, एमाले, माओवादी केन्द्र, राजपा, संघीय समाजवादी फोरम, लोकतान्त्रिक फोरमले ती सबै तहमा आफ्ना उम्मेदवार तय गरिसकेका छन् । यसअघि, पहिलो चरणमा वैशाख ३१ मा प्रदेश ३, ४ र ६ का २ सय ८३ स्थानीय तहमा १३ हजार ५ सय ५६ र दोस्रो चरणमा असार १४ गते प्रदेश १, ५ र ७ का ३ सय ३४ स्थानीय तहमा १५ हजार ३८ जनप्रतिनिधि निर्वाचित भई जिम्मेवारी सम्हालिसकेका छन् ।
राजपासमेतले चुनावमा जाने निर्णय लिएपछि उक्त प्रदेशमा चुनावी वातावरण बनेको हो । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन कार्यक्रममा उत्साहपूर्वक सहभागिता जनाउन दल र स्वतन्त्र उम्मेदवारसहित सबैलाई आह्वान गरेका छन् । मंगलबार पत्रकार सम्मेलनमा उनले मनोनयन दर्तामा अवरोध सिर्जना गर्ने, भड्काउने, बाधा व्यवधान खडा गर्नेलाई सुरक्षा निकायले कारबाही गर्ने बताए ।
सम्बन्धित स्थानीय तहमा खोलिएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गराउनुपर्ने छ । राजनीतिक दलले प्रमुख–उपप्रमुख वा अध्यक्ष–उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिँदा एक पदमा अनिवार्य रूपमा महिलालाई उम्मेदवार बनाउनुपर्ने कानुनी व्यवस्था छ ।
त्यही प्रावधानअनुसार पहिलो र दोस्रो चरणको निर्वाचनबाट उपप्रमुख–उपाध्यक्ष पदमा करिब ९० प्रतिशत महिला निर्वाचित भइसकेका छन् । प्रत्येक वडामा हुने ४ जना वडा सदस्यमा एक जना दलित महिलासहित २ सदस्य महिलाका लागि आरक्षित छ । महिला, दलित, अल्पसंख्यकलगायतले उम्मेदवारी मनोनयन गर्दा लाग्ने दस्तुरमा ५० प्रतिशत छुटको कानुनी व्यवस्था छ । वडा सदस्यका लागि ५ सय, वडाध्यक्षका लागि १ हजार, गाउँपालिकाका अध्यक्ष–उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुखका लागि १ हजार ५ सय रुपैयाँ धरौटी तोकिएको छ ।
तेस्रो चरणको स्थानीय तह निर्वाचनमा ३१ हजार ५ सय कर्मचारी परिचालन हुने आयोगले जानकारी दिएको छ । कुल मतदाता संख्या २६ लाख ६४ हजार ९ सय ५० छन् । तिनका लागि ३ हजार ५ सय ७८ मतदान केन्द्र तोकिएको छ । प्रमुख आयुक्त यादवले निर्वाचन आचारसंहिता कार्यान्वयनमा आयोगको विशेष चासो रहेको बताए । उनले आयुक्तहरूको नेतृत्वमा उच्चस्तरीय अनुगमन टोली प्रदेश २ का जिल्लाहरूमा खटिइसकिएको साथै प्रचारप्रसारको अनुगमन गर्न पनि प्रत्येक जिल्लामा दुईरदुई जना सचिवको टोली पनि परिचालन गरिएको जानकारी दिए । मतदाता शिक्षा प्रभावकारी बनाउन घरघरमा पुग्ने गरी ३ हजार ५ सय कर्मचारी परिचालन गरिएको र प्रत्येक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ता परिचालन गरिने आयोगले जनाएको छ । तेस्रो चरणको निर्वाचनका लागि आयोगले ४४ वटा संस्थाका करिब २ हजार पर्यवेक्षकलाई निर्वाचन पर्यवेक्षण अनुमति दिएको छ ।
त्यस्तै, विदेशी कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलाई जनकपुर, बर्दिबास, वीरगन्ज र सिमरामा मतदानका दिन अवलोकन भ्रमण गराउन सकिने गरी तयारी गरिएको आयोगले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed