![]()
बिबिसि । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपींगबीच तीन महिना लामो सीमा विवादको अन्त्य भएको केही दिनपश्चात द्विपक्षीय वार्ता भएको छ ।
चीनको बन्दरगाह शहर सियामनमा भएको ब्रिक्स सम्मेलनका दौरान दुई नेताबीच दुर्लभ भेटवार्ता भएको हो । चिनियाँ सरकारी सञ्चार माध्यमका अनुसार राष्ट्रपति सीले प्रधानमन्त्री मोदीलाई “स्वस्थ र स्थिर“ भारत–चीन सम्बन्ध आवश्यक भएको बताए । एक घण्टा भन्दा बढी चलेको कुराकानीका बेला राष्ट्रपति सी ले भारतसंगको द्विपक्षीय सम्बन्धलाई “सही मार्ग“ मा ल्याउन आह्वान गरेको सिन्ह्वाले जनाएको छ ।
प्रधानमन्त्री मोदीले उनलाई तीन दिने ब्रिक्स सम्मेलन सफलतापूर्वक आयोजना गरेकोमा बधाइ दिएका थिए ।
भेटपछि गरिएको प्रेस ब्रिफिंगमा बोल्दै भारतीय विदेश सचिव एस जयशंकरले दुवै देश आपसी सम्मानका आधारमा अघि बढ्ने बताए ।
“यस्ता घटना नदोहोरिन दिनका लागि अझ राम्रो सञ्चार र सहयोग हुनुपर्नेमा दुवै पक्षले सहमती जनाएका छन,“ जयशंकरले बताए ।
ब्रिक्स सम्मेलनमा भाग लिन विश्वका गैर पश्चिमा पाँच ठूला अर्थतन्त्र भएका देशका नेता आएका थिए ।
भारत र चीन बाहेक ब्रिक्सका अन्य सदस्य राष्ट्रमा ब्राजील, रुस र दक्षिण अफ्रिका रहेका छन् ।
तीन दिने सम्मेलनको मुख्य एजेण्डा आर्थिक सम्बन्ध नै थियो ।


