![]()
जाजरकोट,२२ चैत ।
नेविसंघका पूर्व केन्द्रीय सदस्य एंव नेपाली कांग्रेस जाजरकोटका युवा नेता रवीन्द्र शाहको हत्या नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताले गरेको रहस्य खुलेको छ । मंगलबार प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका उनीहरुले चन्दा नदिएको झोंकमा मारेको बयान दिएका छन् । घटनामा संलग्न मध्यका शिव भन्ने ठगेन्द्रबहादुर सिंह र डिल्ली भन्ने डिलबहादुर रानालाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाका योजनाकार तथा संलग्न भनिएका ति दुवै जनाले अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ।
हत्यामा संलग्न देखिएका पौरख भनिने बलबहादुर मल्ल, इतिहास भनिने प्रेम वली, मोहित सिह भनिने इन्द्र शाही, अभिषेक भनिने दीर्घबहादुर नेपाली र नाम खुल्न नसकेका सुर्खेत घर भएका विप्लव कार्यकर्ताको खोजी भइरको भेरी अञ्चल प्रमुख एसएसपी महेशविक्रम शाहले जानकारी दिए।
पक्राउ परेका र हत्या गरी फरार रहेका सबै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्बद्ध कार्यकर्ता भएको प्रहरीले जनाएको छ ।
शाहलाई श्रद्धाञ्जली दिन जाजरकोट पुग्नुभएका गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाले हत्यारालाई सजाय दिएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । शाहलाई श्रद्धाञ्जली दिन गृहराज्यमन्त्रीसंगै जाजरकोट पुग्नुभएको नेपाल विद्यार्थी संघका उपाध्यक्ष पुष्पकुमार शाहीले हत्यारालाई कारबाही नगरे आफुहरु चुप लागेर नबस्ने चेतावनी दिनुभएको छ । उहाँले हत्यामा संलग्न अन्य फरार अभियुक्तहरुलाई पनि तत्काल पक्राउ गरी कानुनी कठघरामा ल्याउन माग गर्नुभयो ।


