![]()
झापा । नेपाल आयल निगमले इन्धन भण्डारणको लागि भन्दै देशका बिभिन्न स्थानमा खरिद गरेको जग्गामा ठूलो आर्थिक घोटाला भएको कुरा सत्य प्रमाणित हुन थालेको छ । संसदीय समितिले झापा लगायत जग्गा खरिद गरिएको स्थानमा गरेको स्थलगत अवलोकनमा निगम नेतृत्वले गर्नुसम्मको अनियमितता गरेको पाइएको हो । निगमले झापामा खरिद गरेको जमिनमा साविक मूल्यभन्दा तेब्बर बढी मूल्य तिरेको पाइएको छ ।
व्यवस्थापिका संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति मातहतको आपूर्ति उपसमितिले मेचीनगर १३ चारआलीस्थित जमिनको स्थलगत अनुगमन गर्दै सामान्य जाग्गालाइ तेब्बर बढी मूल्य तिरेको निष्कर्ष निकालेको हो ।
निगमले चारआलीमा २३ विगाह ३ कट्ठा १३ धुर जमिन खरिद गरेको छ । निगमले उक्त जमिन प्रतिकट्ठा १३ लाख ५१ हजारका दरले खरिद गरेको जिल्ला मालपोत कार्यालयको मोठमा उल्लेख छ । तर, जग्गाधनीले भने प्रतिकट्ठा ४ लाख ४० हजार रुपैयाँ मात्र पाएको देखिएको छ । अन्य रकम आयल निगमले घोटाला गरेको समितिको निष्कर्ष छ ।
समिति सदस्यहरका अनुसार निगमले सबै प्रक्रिया मिलाएर घोटाला गरेको छ । ४ लाख पनि नपर्ने जमिनलाई साढे १३ लाख तिरिएकोमा सांसदहरु फिल्डमै आक्रोशित भएका छन । जग्गा धनी व्यक्तिहरुले बढी मूल्य पाएपछि आफूहरुले जग्गा बेचेको बताएका छन । कसले र के का लागि जग्गा किन्दैछ भन्ने थाहा नभएको उनीहरुले बताए । आफूहरुको जग्गाबाट राज्य नै लुटिएकोमा आफूहरुलाइ दुःख लागेको उनीहरु बताउँछन ।
अचम्म त के भने झापाको दुवागढीमा किनेको जग्गा पूर्व–पश्चिम रेलमार्गको रुटमा परेको भेटिएको छ । सरकारसँग कुनै छलफल नगरी दलालसँगको सेटिङमा किन्दा प्रस्तावित रेल्वे ट्र्याकभित्रै जग्गा परेको हो । निगमले खरिद गरेको जमिनमा रेलमार्गको सर्भे समेत भइसकेको छ ।


