![]()
काठमाडौ,५ भदौ ।
प्रधानमन्त्री शेरवहादुर देउवाको आसन्न भारत भ्रमणको कार्यतालिका तय भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय र पारस्परिक हितका मुद्दामा आसन्न भारत भ्रमण केन्द्रित हुने बताएका छन् । पूर्व प्रधानमन्त्रीहरूसँग भारत भ्रमणबारे शनिबार सुझाव लिने क्रममा प्रधानमन्त्री देउवाले भनेः‘नेपाल र नेपालीकै हित र राष्ट्रिय स्वार्थपूर्ति गर्न मैले यो भ्रमणलाई उपयोग गर्नेछु ।’ देउवाले तराईमा बाढीका कारण उत्पन्न डुबान समस्याबारे भारतीय प्रधानमन्त्रीसँग कुराकानी गर्ने बताए ।
प्रधानमन्त्री देउवा बुधबारदेखि भारतको पाँचदिने राजकीय भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री भएयता पहिलोपटक उनी भारत जान लागेका हुन् । प्रधानमन्त्री भ्रमणको औपचारिक घोषणा दुवै विदेश मन्त्रालयका तर्फबाट सोमबार हुनेछ । भ्रमणको क्रममा नेपाल–भारतबीच आधा दर्जनभन्दा बढी समझदारीपत्रमा हस्ताक्षरको तयारी भएको छ । स्रोतका अनुसार नेपालको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता जनाएको २५० मिलियन अमेरिकी डलर अनुदान सहयोग परिचालनका लागि चारवटा विधामा भिन्दाभिन्दै समझदारीपत्रमा हस्ताक्षर हुनेछ । जसअनुसार ५० मिलियन स्वास्थ्य क्षेत्रमा, ५० मिलियन सांस्कृतिक सम्पदा, ५० मिलियन शिक्षा क्षेत्रमा र एक सय मिलियन भूकम्पपीडितका लागि घर निर्माणमा खर्च हुनेछ ।
नेपाल र भारतका गुणस्तर तथा नापतौल निकायबीच वस्तुको गुणस्तरलाई एकअर्काले मान्यता दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुनेछ । स्रोतका अनुसार एसियाली विकास बैंकको सहयोगमा सासेक कार्यक्रमअन्तर्गत मेची नदीमा बनाइने पुलका लागि समझदारीपत्रमा हस्ताक्षर हुने भएको छ । त्यस्तै, भारतले पशुपति क्षेत्रको पुनर्निर्माणका लागि सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर हुनेछ ।
लुम्बिनीको बृहत्तर विकासअन्तर्गत लुम्बिनीमा भारतले सभागृह बनाउन सहयोग गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्ने भनिए पनि टुंगो हुन भने सकेको छैन ।
यस्तो छ प्रधानमन्त्री देउवाको भ्रमणको प्रारम्भिक कार्यतालिका
बुधबारः बिहान प्रधानमन्त्री नयाँदिल्ली प्रस्थान,
दिउँसो भारतीय सत्तापक्ष र प्रतिपक्षी दलका नेतासँग भेट,
साँझ दिल्लीस्थित दूतावासको कार्यक्रममा सम्बोधन
बिहीबारः भारतीय उच्च राजनीतिक तहमा भेटवार्ता
भारतीय राष्ट्रपतिसँग भेट, भारतीय प्रधानमन्त्री मोदीसँग एकल र सरकारी तहमा वार्ता
भारतीय सरकारका मन्त्री र देउवाबीच भेट
शुक्रबारः भारतीय थिंकट्यांक र व्यापारीसँग छलफल
हैदरावाद गई त्यहाँको सूचना प्रविधि पार्क अवलोकन
तिरुपति दर्शन
शनिबारः बिहार भ्रमण
आइतबारः स्वदेश फिर्ता


