![]()
काठमाडौ,३२ साउन ।
२३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी–पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।
सरकारले डा. केसीका माग सम्बोधनमा ढिलाइ गरिरहेका बेला उनले कुनै सम्झौता बिना नै अनशन स्थगित गरेका हुन्। त्यसो त २३ दिनदेखिको अनशरत डा. गोविन्द केसीका मागबारे वार्ता गर्न १९ दिनदेखि काम गर्दा पनि सरकारी समितिले ठोस निकास दिन नसकेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले प्रत्यक्ष हस्तक्षेप गरेर सुखद निष्कर्षतिर पुर्याएका हुन् ।
तीनपटकसम्म उच्च स्तरीय बैठक बस्दा र प्रमुख प्रतिपक्षसँग आग्रह गर्दा पनि निकास निस्किन नसेको अवस्थामा देउवाले पछिल्ला २४ घण्टामा ठोस प्रस्तावसहित केसी पक्षसँग सीधै सम्पर्कमा रहेर टुंगोमा पुर्याए। देउवाले डा. केसीले उठाएका प्रमुख माग सम्बोधन हुनेगरी मंगलबार दिनभरमा चारवटा निर्णय गराए।
साँझ पाँच बजे सरकारले आकस्मिक रूपमा मनमोहन मेडिकल कलेज खरिद प्रक्रिया अगाडि बढाउन मुख्य सचिवको संयोजकत्वमा अर्थ, सार्वजनिक खरिद कार्यालय शिक्षा र स्वास्थ्य सचिव सदस्य रहेको कमिटी गठन गरेको छ। चिकित्सा शिक्षा विधेयक पारित गराउन मनमोहन मेडिकल कलेजका कारण बाधा पुगेको छ।


