Breaking News.... EverestOnlineKhabar
May 11, 2026

वर्षा रोकिएसंगै राहत वितरणमा जुट्यो सरकार…१३ हेलिकोप्टर परिचालन

Loading

काठमाडौ,३१ काठमाडौ ।
लगातारको वर्षा रोकिएपछि उद्धारसँगै सरकार प्रारम्भिक राहत वितरणलाई आक्रामक बनाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अन्य मन्त्रीसहित सोमबार अपराह्न बाढी प्रभावित क्षेत्र पुगेका थिए। प्रधानमन्त्री देउवालाई लिएर ११ बजेर ५१ मिनेटमा उडेको सेनाको हेलिकोप्टर सुरुमा इटहरी पुगेको थियो । इटहरीस्थित कृष्ण मन्दिरमा राखिएका बाढीपीडितलाई देउवा आफैंले राहत वितरण गरेका थिए। प्रधानमन्त्रीका बरिष्ठ सञ्चार विज्ञ गोविन्द परियारका अनुसार प्रधानमन्त्री र मन्त्रीहरू बाढीपीडित क्षेत्रमा पुगेपछि सेनाको हेलिकोप्टरबाट पुर्‍याइएको राहत वितरण गरिएको थियो।
प्रधानमन्त्रीको टोलीमा उपप्रधान एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदार, गृहमन्त्री जनार्दन शर्मा र चारवटै सुरक्षा निकायका प्रमुख थिए । यो टोलीले बारा, पर्सा रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी, मोरङ, सुनसरी र झापाका बाढी पहिरो र डुबान क्षेत्र निरीक्षणसमेत गरेको थियो ।
सरकारले राहत रकम विनियोजन गरेर प्याकेज बनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई निर्देशन दिएको थियो। गृह मन्त्रालयका अनुसार १२ वटा बाढी प्रभावित जिल्लामा सेना र अन्य निजी हेलिकोप्टरमार्फत राहत पठाइएको थियो। जसअन्तर्गत झापा, सुनसरी, सप्तरी, सर्लाही, धनुषा महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा राहत पठाइएको हो । राहत लिएर सेनाको सातवटा र निजी क्षेत्रका आठवटा हेलिकोप्टर पठाइएको गृहले जनाएको छ ।
जसअनुसार झापामा आठ सय ५१ थान त्रिपाल, चार सय ७५ थान कम्बल र दुई सय ६१ सेट भाँडाकँडा र ड्राइफुड, सुनसरीमा ६ हजार चार सय ८५ किलो चामल, १२ हजार ६० केजी चिउरा, ६ हजार सात सय १० केजी भुजिया, नौ सय १० किलो नुन, २१ हजार चार सय ५० प्याकेट चाउचाउ, ५० लिटर तेल, ६ सय ५० पोका चाउचाउ र तीन सय २५ केजी दालमोठ वितरण गरिएको छ । त्यसैगरी, सप्तरीमा ६ सय ७० वटा त्रिपाल, १५ बोरा चिउरा, ५० बोरा भुजिया, १० बोरा चामल, लत्ताकपडा एक सय ४६ थान र विराटनगरबाट पाँच हजार केजी ड्राईफुड पठाएको मन्त्रालयले जनाएको छ।
झापा, सुनसरी, सप्तरीसँगै अन्य आठ जिल्ला सर्लाही, धनुषा, महोत्तरी, बारा, रौतहट, दाङ, बाँके, बर्दिया र कैलालीमा त्रिपाल, कम्बल, सिटामोल, जीवनजलसँगै ड्राइफुड, भाडाकुँडा र लत्ताकपडा पठाइएको जानकारी गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.