Breaking News.... EverestOnlineKhabar
May 11, 2026

सत्तारुढ दलका सांसदले साथ नदिएपछि डा.केसीको माग विरुद्धको विधेयक पारित गराउने प्रयास विफल….

Loading

काठमाडौ,२७ साउन ।
डा. गोविन्द केसीका मागविपरीत हुने गरी संसदीय समितिले बिहीबार चिकित्सा शिक्षा विधेयक पारित गराउन खोजे पनि कांग्रेस र माओवादी केन्द्रका सांसदको विरोधका कारण सफल हुन सकेन । महिला बालबालिका, ज्येष्ठ नागरिक र समाज कल्याण समितिद्वारा विधेयकमाथि परेका संशोधनमा सहमति जुटाउन गठित कार्यदलले केसीका मागविपरीत प्रतिवेदन बुझाएपछि विधेयक झनै विवादित भएको हो ।
कार्यदलले आशयपत्र लिएर मेडिकल कलेज, डेन्टल वा नर्सिङको कार्यक्रम सञ्चालन गर्न आवश्यक पूर्वाधार तथा मापदण्ड पूरा गरेका शिक्षण संस्थालाई सम्बन्धन दिन बाधा नपर्ने प्रावधान राखेको छ । यो प्रावधान पारित भए उपत्यकामा ५ मेडिकल कलेजले सम्बन्धन पाउनेछन् । यो विधेयक पारित भए आफ्नो लगानी रहेको मनमोहन मेडिकल कलेजले सम्बन्धन पाउने देखेपछि एमाले सांसदहरूले बिहीबारै समितिबाट पारित गर्न खोजेका थिए ।
कांग्रेस र माओबादी केन्द्रका सांसदहरू भने कार्यदलले बुझाएको २८ बुदे प्रतिवेदन अध्ययन गर्नु पर्ने भन्दै अर्को दिन बैठक राख्न आग्रह गरेका थिए । कार्यदलका सदस्य कांग्रेस सांसद जीवन परियारले समितिमा प्रतिवेदन प्रस्तुत गरेपछि कांग्रेस, माओबादी केन्द्रसहित अन्य दलका सांसदहरूले प्रतिवेदन अध्ययन गर्न समय दिन माग गरेका थिए ।
चिकित्सा शिक्षा सुधारको माग राखेर ११ औ पटक आमरण अनसन बसेका डा। केसीको माग पुरा नहुने गरी कानुन बन्न लागेपछि सांसदहरू नै विभाजित भएका छन् । कार्यदलको प्रतिवेदन पारित गर्नुपर्ने र केसीले राखेको माग पुरा नहुने गरी विधेयक अघि बढाउन नहुने आवाज उठेपछि समितिका सदस्यहरू विभाजित भएका हुन् । समितिका सभापति र एमालेका सांसदले प्रतिवेदन पारित गर्न आग्रह गरे पनि कांग्रेस र माओबादी केन्द्रका सांसदले प्रतिवेदन अध्ययन गर्न समय दिनु पर्ने भन्दै पारित गर्न इन्कार गरेका थिए । कांग्रेस सांसद् टीएल चौधरीले विवादित विधेयक भएकाले अध्ययन गर्न समय आवश्यक पर्ने बताए । त्यस्तै माओबादी केन्द्रका सांसद निसा साहले पनि बिषयलाई स्थापित गर्न अध्ययन गर्ने समय दिनु पर्ने बताइन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.