![]()
रौतहट,२२ साउन ।
चार जना बालिका खाल्डोमा डुबेर ज्यान गुमाएपछि गरुडाका स्थानीय आक्रोशित भएका छन् । उनीहरु चारै जनाको शव इलाका प्रहरी कार्यालय गरुडामा राखेर प्रदर्शन गरिरहेका छन्।
सडक डिभिजन कार्यालय र ठेकेदारको लापरबाहीका कारण अबोध चार बालिकाको ज्यान गएको भन्दै आफन्त र स्थानीयहरुले कारबाहीको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन्।
मृतकका ठूलाबुबा महन्थ साहले दोषीलाई कारबाही नगरेसम्म शव नउठाउने चेतावनी दिए। उनले ठकेदारलाई पटक पटक खाल्डा पुर्न भनेपनि अटेर गरेको आरोप लाए।
उनले भावविह्वल हुँदै भनेः‘ ठेकेदारलाई हामीले पटक पटक खाल्डा पुर्न आग्रह गरेका थियौं। आज आफ्नै परिवारका सदस्य गुमाउनुपर्यो, दोषीलाई कडाभन्दा कडा कारबाही होस् ।’
यता प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले घटनाको गहन अनुसन्धान भइरहेको बताएका छन्। आज बिहानमात्र ठेकेदारलाई नियन्त्रणमा लिइएको थापाले बताए।


