![]()
काठमाडौ,२२ साउन ।
नेपाल पर्वतारोहण संघको अध्यक्षमा सन्तवीर लामा विजयी भएका छन् । आज बिहान सकिएको मतगणना अनुसार ३ सय ८३ मतसहित लामा अध्यक्षमा चुनिएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जिङ्बाजाङ्बु शेर्पाले ३ सय १६ मत ल्याए ।
संघको प्रथम उपाध्यक्षमा दिवसविक्रम शाह ३ सय ७० मतसहित विजयी भए भने द्वितीय उपाध्यक्षमा ३ सय ८४ मत प्राप्त गरी माया शेर्पा विजयी भईन् । त्यस्तै महासचिवमा चुनिएका कुलबहादुर गुरुङले ३ सय ८१ मत ल्याए । सचिवमा ३ सय ५० मतका साथ टीकाराम गुरुङ र कोषाध्यक्षमा ३ सय ३२ मत प्राप्त गरी सुदर्शन न्यौपाने विजयी भए ।
त्यसैगरी सदस्यमा प्राध्यापक डाक्टर हरिप्रसाद श्रेष्ठ, विनय शाक्य, पासाङटेण्डी शेर्पा, सञ्जीव गुरुङ, सिंगी लामा, मिङ्मार शेर्पा, तुलसी गुरुङ, दा गेल्जे शेर्पा र आङछेवाङ शेर्पा विजयी भए । शनिवार भएको चुनावको मतपरिणाम आइतबार बिहान आएको हो । एक हजार ३९ मतदाता रहेकामा ७ सय ६० मत खसेको थियो ।
चुनावबाट अध्यक्षसहित पदाधिकारी र सदस्य गरी १५ सदस्य चुनिएका छन् । तीन वर्षे कार्यकाल रहने संघको २५ सदस्यीय कार्यसमितिमध्ये संस्थागत र आरोहीतर्फबाट पाँचजना निर्विरोध निर्वाचित भइसकेका छन् भने तीन सदस्य नोमिनेसनबाट चुनिने छन् । त्यस्तै पर्यटन विभागका महानिर्देशक सदस्य र संघका निवर्तमान अध्यक्ष अभिभावक सदस्य चुनिने जनाइएको छ ।


