![]()
काठमाडौ,९ साउन ।
कांग्रेसका केन्द्रीय सदस्यहरुले प्रदेश नम्बर २ को चुनावअघि नै संविधान संशोधन विधेयकलाई मतदानमा लगेर टुंग्याउन नेतृत्वलाई दबाब दिएका छन् । संविधान संशोधन पारित हुन आवश्यक दुई तिहाई मत नपुगे पनि मतदानमा लैजानुपर्ने उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको २ दिन चलेको बैठकमा बोल्ने सबैजसो केन्द्रीय सदस्यहरुले संविधान संशोधनलाई थाँती राख्न नहुने धारणा एकमतका साथ उठाएका थिए ।
संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई मत सुनिश्चित नभएका कारण राष्ट्रिय जनता पार्टी (राजपा) कै परामर्शमा सरकारले विधेयकलाई मतदानमा नलगि स्थगनमा राख्दै आएको छ । स्थगनमा राख्न नहुने पक्षमा स्यवं कांग्रेसका मधेस केन्द्रित नेताहरु नै अग्रपंङ्ती उभिएका छन् ।
पार्टीका मधेसबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य, सांसद र जिल्ला सभापतिहरुको शुक्रबार राजधानीमा सम्पन्न भएको भेलाले समेत संविधान संशोधनलाई मतदानमा लैजानुपर्ने निर्णय गरेको थियो । सोही निर्णय मधेसका केन्द्रीय सदस्यले आईतबारको केन्द्रीय कार्यसमितिको बैठकमा पढेर सुनाउँदै त्यसको कार्यन्वयनमा अघि बढ्न प्रधानमन्त्री एवं पार्टी सभापति देउवासँग आग्रह गरे ।
मधेसमा कांग्रेसले आफ्नो स्थितीलाई सुदृढ बनाउन पनि संशोधन विधेयक अघि बढाउनु पर्ने निष्कर्षमा कांग्रेस नेताहरु पुगेका हुन् । संशोधन विधेयकअघि नबढाएमा राजपा एमाले भन्दा कांग्रेसकै विरुद्ध चुनावी प्रचारमा उत्रने संशय कांग्रेसका मधेस केन्द्रित नेताहरुले व्यक्त गरेका थिए । मतदानमा लैजादा असफल भए पनि कांग्रेसलाई असर नगर्ने मत मधेस केन्द्रित नेताहरुले नेतृत्वलाई सुझाएका छन् ।
बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्र बडु, गगन थापा, अर्जुन जोशी, एनपी सावद्, किरण यादव, बद्री पाण्डे, पुष्पा भूषाल, वीरवहादुर बलायार, मोहन बस्नेत, इश्वरी न्यौपाने, सीता गुरुङ, जीवनबहादुर शाही, श्यामकुमार घिमिरे लगायत बोल्ने अधिकांशले संशोधन विधेयकलाई अघि बढाउन जोड दिएका थिए ।


