![]()
काठमाडौ,२२ असार ।
सरकार गठन भएको एक महिना बित्नैलाग्दा पनि सत्तारुढ दलहरुले अझै मन्त्रालयको भागबण्डा मिलाउन सकेका छैनन् । यद्धपि प्रधानमन्त्री शेरवहादुर देउवाले यसै साता मन्त्रिपरिषद्लाई पुर्णता दिने तयारी गरेका छन् । सत्ता साझेदार कांग्रेस र माओवादी केन्द्रले २० मन्त्रालय आफूहरुले लिने गरी भागबण्डा मिलाउने अन्तिम कसरत थालेको निकट श्रोतले जनाएको छ । यसै साता मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा रहेका सत्तारुढ कांग्रेस–माओवादी नेताबीच बुधबार सरकारमा कति राजनीतिक दललाई ल्याउने र मन्त्रालय भागबण्डा कसरी टुंग्याउने भन्नेमा छलफल भएको थियो ।
स्रोतका अनुसार संघीय समाजवादी फोरमले समेत सरकारमा आउने संकेत दिएको छ । फोरमलाई समेत सम्मानजनक हैसियतमा ल्याउने तयारी प्रधानमन्त्री शेरबहादुर देउवाको छ । कांग्रेस र माओवादी केन्द्रले संसदमा दर्ता भएको संविधान संशोधन विधेयक पारित गर्न दुई तिहाई समर्थन जुटाउने कसरत पनि यही बेला तीव्र पारेका छन् । छलफलमा कांग्रेस र माओवादी केन्द्रका नेताहरुबाटै राप्रपा संविधान संशोधनमा एकजुट नहुने अबस्थामा सरकारमा ल्याउनुको औचित्य नहुने बताउँदै आएका छन् । तर, सत्ता घटक कांग्रेस र माओवादीले उपप्रधानमन्त्री विनाका ४ मन्त्रालय छुट्टाईएको जानकारी दिएका छन् ।
मन्त्रालय भागबण्डा टुंग्याउन कांग्रेस नेता विमलेन्द्र निधि, अर्थ मन्त्री ज्ञानेन्द्रवहादुर कार्की र माओवादीका तर्फबाट उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णवहादुर महरा र नेता बर्षमान पुनबीच विभिन्न मोडलमा छलफल भएका थिए । संघीय समाजवादी फोरम सरकारमा आउँदा वा नआउँदाको अवस्थामा कसरी मन्त्रालयको भागबण्डा गर्ने भन्नेबारे पनि छलफल भएको स्रोतले बतायो । दुई तिहाईको समर्थन पुग्ने अवस्था विद्यमान हुँदा र नहुँदा कसरी मिलाउने भन्नेबारे अर्को विकल्पमा पनि छलफल भएको थियो ।


