Breaking News.... EverestOnlineKhabar
October 7, 2026

कम्युनिस्ट एकजुट र रास्वपाको दबाबबीच कांग्रेस फुट्नु विडम्बनापूर्ण: किशोरसिंह राठौर

Loading

काठमाडौँ, एभरेस्ट अनलाइन खबर। नेपाली कांग्रेसका सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले पार्टीभित्र झाँगिँदै गएको आन्तरिक विभाजन र गुटबन्दीप्रति कडा असन्तुष्टि जनाएका छन्। मुलुकको राजनीतिक परिदृश्यमा नयाँ तथा पुराना शक्तिहरूको दबाब बढिरहेका बेला पार्टीभित्रै दुईवटा अधिवेशन हुने स्थिति सिर्जना हुनु दुःखद र विडम्बनापूर्ण रहेको उनले बताएका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उदयले कांग्रेसलाई राजनीतिक रूपमा कठिन अवस्थामा पुर्‍याएको र अर्कोतर्फ कम्युनिस्ट शक्तिहरू एकजुट हुँदै गएको वर्तमान अवस्थालाई राठौरले जोड दिएका छन्। बाह्य राजनीतिक चुनौतीहरू थपिँदै जाँदा कांग्रेस भने आन्तरिक कलह र किचलोमा अल्झिनु आत्मघाती हुने उनको तर्क छ।

“एकातर्फ कम्युनिस्टहरू मिल्दै जाने र अर्कातर्फ रास्वपाजस्ता नयाँ शक्तिहरूले कांग्रेसलाई घेराबन्दीमा पार्दै कठिन मोडमा पुर्‍याउने स्थिति छ,” राठौरले भने, “यस्तो संकटको घडीमा सबै मिलेर पार्टीलाई बलियो बनाउनुपर्नेमा उल्टै दुईवटा अधिवेशन हुने अवस्था सिर्जना हुनु अत्यन्तै विडम्बनापूर्ण कुरा हो।”

नेता राठौरले पार्टीभित्रको गुटबन्दी त्यागेर सम्पूर्ण नेता तथा कार्यकर्तालाई एकताबद्ध भई अघि बढ्न आह्वानसमेत गरेका छन्। उनले पार्टी संकटमा परेका बेला व्यक्तिगत र गुटगत स्वार्थभन्दा माथि उठेर कांग्रेसलाई बलियो बनाउनुपर्नेमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed