![]()
काठमाडौँ | राष्ट्रिय परीक्षा बोर्डको कर्मचारी युनियन औपचारिक रूपमा भंग भएको छ। आइतबार युनियनका अध्यक्ष राजु ओलियाले एक विज्ञप्ति जारी गर्दै युनियन भंग गरिएको घोषणा गरेका हुन्।
सरकारले अघि सारेको सुधारका कार्यक्रमहरूलाई साथ दिने उद्देश्यले यो कदम चालिएको युनियनले जनाएको छ।
भंग गर्नुको मुख्य कारण
मन्त्रिपरिषद्बाट स्वीकृत भएको ‘शासकीय सुधार सम्बन्धी १०० बुँदे कार्यसूची’ मा उल्लेखित व्यवस्थालाई स्वागत गर्दै युनियनले आफ्नो अस्तित्व समाप्त गर्ने निर्णय गरेको हो। अध्यक्ष ओलियाद्वारा जारी सूचनामा भनिएको छ:
“राज्यले अंगीकार गरेको शासकीय सुधारको बाटोलाई आत्मसात गर्दै र प्रशासनिक संयन्त्रलाई थप चुस्त बनाउने सरकारको लक्ष्यलाई समर्थन गर्दै हामीले राष्ट्रिय परीक्षा बोर्ड, कर्मचारी युनियन भंग गर्ने निर्णय गरेका छौँ।”
-
निर्णयको मिति: आइतबार, २०८२ चैत १५ गते।
-
नेतृत्व: अध्यक्ष राजु ओलिया।
-
मुख्य एजेन्डा: सरकारी शासकीय सुधार सम्बन्धी सय कार्यसूचीको कार्यन्वयनमा सहयोग पुर्याउने।
-
सन्देश: सार्वजनिक निकायहरूमा दलीय ट्रेड युनियनभन्दा सेवा प्रवाह र प्रशासनिक सुधारलाई प्राथमिकता दिनुपर्ने।
सरकारले पछिल्लो समय सरकारी तथा सार्वजनिक निकायहरूमा रहेका ट्रेड युनियनहरूको भूमिका र संरचनामा परिमार्जन गर्ने तयारी गरिरहेको सन्दर्भमा बोर्डको युनियनले चालेको यो कदमलाई अर्थपूर्ण रूपमा हेरिएको छ। बोर्डमा अब कर्मचारीहरू व्यावसायिक र प्रशासनिक मर्यादाभित्र रहेर कार्य सम्पादनमा केन्द्रित हुने विश्वास लिइएको छ।


