Breaking News.... EverestOnlineKhabar
June 4, 2026

सहकारी ठगी अभियोगमा थुनामा रहेका ढोरपाटनका मेयरमाथि सम्पत्ति शुद्धीकरणको पनि मुद्दा

Loading

२५ असोज, पोखरा । सहकारी ठगी अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली विरुद्ध सरकारले सम्पत्ति शुद्धीकरणको मुद्दा चलाएको छ ।

बाग्लुङको जिल्ला सरकारी वकिलको कार्यालयले नेपाली विरुद्ध एक अर्ब ५८ करोड रुपैयाँ विगो मागदावी सहित मुद्दा दायर गरेको हो । उनीमाथि बाग्लुङको इमेज सहकारी संस्थाको रकम हिनामिना गरी गैरकानूनी सम्पत्ति कमाएको आरोप छ ।

पहिले सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएका नेपालीलाई बिहीबार सम्पत्ति शुद्धीकरण मुद्दा पनि दर्ता गरिएको सरकारी वकिल कार्यालय बागलुङका जिल्ला न्यायाधिवक्ता पूर्णप्रसाद शर्माले जानकारी दिए । ’यसअघि सहकारी ठगीमा अभियोजन दर्ता भएकोमा सम्पत्ति शुद्धीकरण विभागको प्रतिवेदनका आधारमा थप मुद्दा चलाइएको हो,’ शर्माले अनलाइनखबरसँग भने ।

सहकारी ठगी छानबिन प्रतिवेदन र प्रहरीले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी वटै मुद्दा चलाउन सिफारिस गरिएको भएपनि यसअघि सहकारी ठगीमा मात्र मुद्दा दर्ता गरिएको थियो । एमालेबाट ढोरपाटन नगरपालिकामा दोस्रो पटक मेयर पदमा विजयी नेपालीलाई केपी ओली सरकारले सम्पति शुद्धीकरण मुद्दा नलगाएर जोगाउन खोजेको आरोप थियो ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले करिव तीन अर्ब विगो सहितको फाइल पेश गरे पनि जिल्ला सरकारी वकिलको कार्यालय, बाग्लुङले एक अर्ब ५८ करोड रुपैयाँ मात्रै विगो मागदावी सहित मुद्दा चलाएको हो । यो अवधिमा मिलापत्र भएको रकम घटाएको स्रोतले बतायो ।

नेपालीमाथि यसअघि सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीन आरोपमा अनुसन्धान भएको थियो । तर तत्कालीन सरकारको पालामा उनीमाथि सहकारी ठगीको आरोपमा मात्र मुद्दा दायर भएको थियो ।

‘एमाले नेताहरुले देवकुमार नेपाली हाम्रो मान्छे हुन्, उनलाई अप्ठेरो पार्ने काम गर्न हुँदैन भनेर दबाब दिए, तत्कालीन महान्यायाधिवक्ता रमेश बडालले फाइल बढ्नै दिएनन्’ जिल्ला सरकारी वकिलको कार्यालय, बाग्लुङसम्बद्ध स्रोत भन्छ, ‘बडालको हस्तक्षेपका कारण डेढ वर्षदेखि फाइल रोकेर राख्नुपरेको थियो, अहिले बल्ल नयाँ महान्यायाधिवक्ताले चासो राखेपछि सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको हो ।’

माओवादी छाडेर एमालेमा प्रवेश गरेका देवकुमार नेपाली अहिले बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर हुन् । पोखराको सूर्यदर्शन सहकारीको नेतृत्व गर्न नपाएपछि उनले बाग्लुङमा २०६८ सालमा इमेज सहकारी स्थापना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed