![]()
२०७७ माघ २ काठमाडौं । अझै तीन दिन देशभर आंशिकदेखि सामान्य बदली हुने देखिएको छ । दक्षिण पूर्वी अरब सागरमा बनेको न्यून चापीय क्षेत्र तथा पूर्वी बिहारमा बनेको न्यून चापीय क्षेत्रको प्रभावले अझै तीन दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । “तत्कालै ठूलो पानी पर्ने सम्भावना भने रहेको छैन”, मौसमविद् पोखरेलले भन्नुभयो । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आगामी तीन दिन देशको धेरैजसो स्थानमा मौसम बदली रहने भएकाले दिउँसोको अधिकतम तापक्रममा कमी भई चिसो महसुस हुने बताइएको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रहनुका साथै देशका तराईका भूभागमा बाक्लो हुस्सु–कुहिरो लागेको छ ।।


