Breaking News.... EverestOnlineKhabar
May 12, 2026

प्रचण्ड-नेपाल पक्षले भन्योः चुनावी गतिविधि रोक्नुहोस्

Loading

२०७७ पुस २७ काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षले निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न माग गरेको छ। पार्टीको आधिकारिक पत्र लिएर सोमबार नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल निर्वाचन आयोगमा पुगेका थिए।

निर्वाचन प्रक्रिया अगाडि बढाएर सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्न खोजेको उनीहरुको आरोप छ। मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर प्रचण्ड-नेपाल पक्ष आयोग गएको हो। सरकारले यही पुस ५ मा प्रतिनिधिसभा विघटन गरेर नयाँ निर्वाचनको मिति आगामी वैशाख १७ र २७ गते दुई चरणमा गर्ने गरी तोकेको थियो।

सोहीअनुसार आयोगले सबै जिल्लामा निर्वाचनको तयारी गरिरहेको छ। नेकपाको आइतबार बसेको सचिवालय बैठकले पनि निर्वाचनको गतिविधि रोक्नुपर्ने निष्कर्ष निकालेको थियो। संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा भएकाले त्यसलाई प्रभावित गर्ने गरी निर्वाचन सम्बन्धी सम्पूर्ण गतिविधि बन्द गर्न निर्वाचन आयोग पुगेको लिलामणि पोखरेल ले बताए।

‘संसद विघटन सम्बन्धी मुद्दा अदालतमा विचाराधिन अवस्थामा छ। उक्त मुद्दालाई प्रभावित गर्नेगरी निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेर अगाडि बढिराखेको छ,’ पोखरेलले भने, ‘मुद्दा किनारा नलाग्दासम्म निर्वाचनका सम्पूर्ण गतिविधि बन्द गर्न लिखित पत्र लिएर आयोगमा पुगको छौं।’

आयोगले पुस १७ गते पठाएको पत्रप्रति आपत्ति जनाएको यो समूहले आयोगले फेरि २३ गते सात दिनभित्र सुधारसहितको थप विवरण उपलब्ध गराउन पत्रचार गरेको थियो। प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि नेकपा दुई खेमा भएको छ। अहिले प्रधानमन्त्री ओली र प्रचण्ड-नेपाल पक्षले आ-आफ्ना गतिविधि अघि बढाइरहेका छन्।

आयोगमा चुनाव चिह्न र पार्टीको नाममा दुवै पक्षले आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। नेपाल पक्षले नेकपाको बहुमत केन्द्रीय सदस्य आफूसँग भएकाले आधिकारिकता दिनुपर्ने माग राखेका छन्। निर्वाचन आयोगले त्यसको निरुपण प्रक्रिया थाले पनि टुंगिसकेको छैन। यस्तो अवस्थामा निर्वाचनको प्रक्रिया थाल्नु नहुने प्रचण्ड-नेपाल पक्षको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.