Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

उत्तर कोरियाका नेता किम जोङ–उनको ‘जीवित र स्वस्थ’ रहेको दक्षिण कोरियाले बताएको छ । मुटुको शल्यक्रियापछि नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको दाबीसहितका खबर आएका बेला दक्षिण कोरियाको यस्तो टिप्पणी आएको हो । किमको स्वास्थ्य राम्रो रहेको र उनी जीवित नै रहेको दक्षिण कोरियाका अधिकारीले बताएका हुन् । दक्षिण कोरियाली राष्ट्रपति मून जे–इनका राष्ट्रिय सुरक्षा सम्बन्धी विशेष सल्लाहकार मून–चुङ्ग–इनले सिएनएनसँगको अन्तर्वार्तामा आइतबार भनेका छन्, ‘हाम्रो स्पष्ट भनाई यो छ कि कमि जोङ–उन जीवित र राम्रो अवस्थामा छन् ।’

नेता किम अहिले वुन्सान नामको रिसोर्ट टाउनमा रहेको उनले बताएका छन् । उत्तर कोरियाको पूर्वी तटीय क्षेत्रको वुन्सानमा नेता किम अप्रिल १३ देखि रहेको दक्षिण कोरियाली राष्ट्रपति मूनका विशेष सल्लाहारले बताएका छन् । अहिलेसम्म सो क्षेत्रमा कुनै पनि असामान्य गतिविधि नदेखिएको उनले सिएनएनसँग बताएका हुन् । नेता किम अप्रिल १५ मा हजुरबुवा (उत्तर कोरियाका संस्थापक) किम इल–सुङ्गको जन्मजयन्तीको विशेष समारोहमा उपस्थित नभएपछि विभिन्न अड्कल भइरहेका छन् । नेता किम अप्रिल ११ मा वर्कर्स पार्टीको पोलिट्ब्युरो बैठकमा सहभागी भएपछि सार्वजनिक रुपमा देखिएका छैनन् ।

त्यसयता किमको स्वास्थ्य अवस्थालाई लिएर पुष्टि नभएका विभिन्न खबरहरु आइरहेका छन् । कतिले उनी गम्भीर बिरामी परेको वा निधन नै भएको हुन सक्नेसम्म दाबी गरेका छन् । गएको सोमबार दक्षिण कोरियाको सिओलबाट सञ्चालन हुने डेली एनके अनलाइनले नेता किमको अप्रिल १२ मा मुटुको शल्यक्रिया भएको र त्यसपछि उनको स्वास्थ्य अवस्था गम्भीर रहेको तर सुधार हुँदै गएको उल्लेख गरेको थियो । सो अनलाइनले उत्तर कोरियाको गोप्य स्रोतलाई उद्धृत गर्दै खबर लेखेको थियो । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमले भने किमको स्वास्थ्य अवस्था वा उनी कहाँ छन् भन्ने बारे केही जानकारी दिएको छैन ।

अमेरिकी सञ्चारमाध्यम सिएनएनले पनि गुप्तचर निकायको स्रोतलाई उद्धृत गर्दै शल्यक्रियापछि किमको स्वास्थ्य अवस्था अति गम्भीर रहेको बताएको थियो । तर दक्षिण कोरियाका दुई अधिकारीले सो कुरा खारेज गरेका छन् । पिता किम जोन इलको सन् २०११ म हृदयघातबाट मृत्यु भएपछि नेता किम उत्तर कोरियाको सत्तामा छन् । उनी तेस्रो पुस्ताका शासक हुन् । चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली उत्तर कोरिया पठाएको छ । उत्तर कोरियाका नेता किम जोन उनलाई सल्लाह प्रदान गर्नका लागि चीनले स्वास्थ्य विशेषज्ञसहितको टोली पठाएको अवस्थासँग जानकार तीन व्यक्तिलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले उल्लेख गरेको थियो ।

उत्तर कोरियाका नेता किमको स्वास्थ्य अवस्थाका सम्बन्धमा विवादास्पद खबरहरु आइरहेका बेला डाक्टरसहित चिनियाँ अधिकारीहरुको यात्रा तय भएको हो । दक्षिण कोरिया र चीनका अधिकारीले नेता किमको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनी जीवनसँग संघर्ष गरिरहेको भनेर आएका खबर खारेज गर्दै आफूहरुले उत्तर कोरियामा कुनै पनि प्रकारको असामान्य गतिविधि नदेखेको बताउँदै आएका छन् ।

यसैबिच सोमबार उत्तर कोरियाको आधिकारिक पत्रिका रोडोङ्ग सिन्मुनले नेता किमले वुन्सान क्षेत्रको पर्यटन परियोजनाका कामदारहरुका लागि धन्यबाद भनेको उल्लेख गरेको छ । उत्तर कोरियाका सञ्चारमाध्यमले नेता किमका नाममा पछिल्ला दिनमा विभिन्न सन्देशहरु सम्बन्धी खबर प्रकाशित गरेका छन् । तर कुनैले पनि नेता किमको तस्बिर छापेका छैनन् । वासिङ्गटनमा आधारित गुप्टचर निकाय ३८ नर्थले स्याटेलाइट तस्बिरमा वुन्सान क्षेत्रमा नेता किमले प्रयोग गर्ने गरेको रेल विगत केही दिनदेखि पार्क गरिएको बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed