Breaking News.... EverestOnlineKhabar
June 5, 2026

Loading

दक्षिण अफ्रिका । कोरोना भाइरसका कारण यतिवेला अधिकांश देशमा लकडाउन गरिएको छ । लकडाउनले मानिसको दैनिकीमा असर परिरहेको छ । कोरोना सक्रमण त्रासका कारण मानिसहरु घर भित्रै रहेका छन् । यसैबीच एउटा निकुञ्जका सिंहहरु बीच सडकमा सुतिरहेको तस्वीरहरु सार्वजनिक भएका छन् । दक्षिण अफ्रिकाको क्रुगर राष्ट्रिय निकुञ्जका सिंहहरूले अहिले त्यहाँ जारी लकडाउनको फाइदा लिइरहेका छन् । बुधवार नियमित अनुगमनका लागि निस्किएका बेला निकुञ्जका रेञ्जर रिचार्ड सोरेले सडकमा सिंहहरू ढुक्कले निदाएको देखे । त्यो सडक अरू बेला पर्यटकहरूका कारण व्यस्त हुन्थ्यो । तर अन्य वन्यजन्तुका संरक्षित क्षेत्रझैँ क्रुगर निकुञ्ज समेत कोरोनाभाइरस लकडाउनका कारण २५ मार्चदेखि बन्द छ ।

त्यसरी सडकमै सिंह सुतेको दृश्य सामान्य अवस्थामा रेञ्जरहरूले रातको समयमा मात्र देख्ने गर्थे । अफ्रिका महादेशकै सबैभन्दा ठूलो शिकार आरक्ष समेत रहेको उक्त संरक्षण क्षेत्रका रेञ्जर रिचार्ड सोरे अत्यावश्यक सेवाका लागि लकडाउनमा समेत काम गरिरहेका छन्। वन्यजन्तुको अवस्था जाँच गरिरहने र तिनलाई गैरकानुनी सिकारीहरूबाट बचाउने जस्ता काम उनी गर्छन् । बुधवार मध्यान्न आराम गर्न बनाइएको एउटा विन्दू नजिक गाडीमा पुग्दा उनले सिंहहरू सुतेको दुर्लभ दृश्य देखे । जम्मा पाँच मिटरजति पछाडि फर्केर उनले त्यो अस्वभाविक अवस्थालाई अझ राम्ररी नियाले । आफ्नो मोबाइलबाट फोटो लिँदा समेत मस्त निदाएका ती सिंहहरूले झिँजो मानेका थिएनन् ।

“गाडीमा हुने मानिसहरूसँग सिंहहरू अभ्यस्त हुन्छन्,” उनले भने । “मानिसहरूको पाइलाको चाल थाहा पाउने एकखाले विशेष गुण भने सबैजसो जनावरमा हुन्छ। त्यसैले म हिँडेको भए चाहिँ उनीहरूले त्यति नजिक जान दिँदैन थिए ।” उक्त बथानमा रहेको सबैभन्दा बुढो सिंह १४ वर्षको छ जुन सिंहका लागि धेरै उमेर हो । त्यसैले गाडीहरू तिनका लागि सामान्य दृश्य भइसकेका हुन्छन् । अरूबेला सोरेले यस्तो दृश्य जाडोका बेला रातमा देख्थे । त्यस्तो बेला सडकको कालोपत्रे पीचको तातोले उनीहरू लोभिएर आउँथे ।

सिंहहरूले अहिलेजस्तै सधै शान्त हुने सोचेर कतै सडकलाई नै सुरक्षित ठाउँ नठानुन् भन्ने रेञ्जरहरूको चिन्ता छ । सिंह मात्र नभएर जङ्गली कुकुरहरू समेत अहिले गल्फकोर्ससम्म आउन थालेका छन् । अन्यथा जङ्गली जनावरहरूको स्वभावमा लकडाउनले ठूलो प्रभाव भने पारेको पाइएको छैन । सोरेले लकडाउनका कारण निकुञ्ज घुम्न आउन नसक्नेहरूलाई थोरै भए पनि खुसी मिलोस् भनेर आफूले खिचेका तस्बिर अरूलाई देखाउन चाहेको बताए । दक्षिण अफ्रिकामा शुक्रवारसम्म भाइरसबाट दुई हजार ६ सय भन्दा धेरै सङ्क्रमित हुनुका साथै ४८ जनाले ज्यान गुमाएका छन् । त्यहाँको लकडाउनको अवधि बुधवारबाट थप दुई हप्ताको लागि बढाइएको छ ।

बीबीसीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed