![]()
भारत प्रशासित कश्मीरमा कोरोना भाइरस (कोभिड १९) बाट सङ्क्रमित एक जनाको मृत्यु भएको छ । कश्मीरमा कोरोना कारण पहिलो व्यक्तिको मृत्यु भएको हो । बिहीबार बिहान श्रीनगरको चेस्ट डिजिज अस्पतालमा ६५ वर्षीय पुरुषको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनी भारतको नयाँ दिल्ली, उत्तर प्रदेश र जम्मू हुँदै फर्किएको एउटा समूहसँगै कश्मीर पुगेका थिए । मृत्यु हुने व्यक्ति मधुमेह, रक्त चाप र मोटोपनाबाट पीडित रहेको बताइएको छ । कश्मीर उपत्यकामा अहिलेसम्म आठ जनामा कोरोनाको पुष्टि भएको छ भने पूरै जम्मू–कश्मीरमा ११ जना सङ्क्रमित भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा अहिलेसम्म कोरोनाका कारण १३ जनाको मृत्यु भएको छ भने ६ सय ४९ जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । जसमध्ये ४२ जना उपचारपछि निको भएका छन् ।


