![]()
२०७६ चैत ०७, काठमाडौं । मनकामना केबलकार २३ दिनका लागि बन्द हुने भएको छ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न केबलकार सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ । ८ चैत (शनिबार) देखि ३० चैतसम्मका लागि केबलकारको सेवा बन्द गरिएको कम्पनीका नायव महाप्रबन्धक डिएन कायस्थले बताए । उनका अनुसार कोरोना भाइरस संक्रमण फैलन नदिन र सरकारको निर्णयलाई सहयोग र्पुयाउने उद्देश्यले चैत मसान्तसम्मका लागि सेवा बन्द गरिएको उनले जानकारी दिए ।
दैनिक औसत ३५ सय मानिस केबलकारमार्फत मनकामना मन्दिर जाने गरेको कम्पनीले जनाएको छ । गोरखा संग्रहालय आगामी १९ वैशाखसम्म बन्द हुने भएको छ । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले संग्रहालय बन्द गर्ने निर्णय गरेको गोरखा संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए । ‘कोरोनाको सम्भावित सक्रमणबाट बच्न संग्रहालय बन्द गर्ने निर्णय गरेका हौँ,’ उनले भने, ‘यो अवधिमा संग्रहालयका प्रदर्शनीकक्ष तथा ग्यालरी खुल्दैनन् ।’ संग्रहालयको प्रशासनिक कामबाहेक सबै बन्द हुने उनको भनाइ छ ।


