Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ७, दार्चुला । नौगाड गाउँपालिका–६ का २१ वर्षीय रमेश टमटा र नौगाड गाउँपालिका–३ का धनसिंह ठगुन्ना झण्डै एक वर्ष दिल्ली बसेर घर फर्किएका छन् । कामका लागि भारत गएका टमटा र ठगुन्ना कोरोना भाइरस (कोभिड–१९) बाट जोगिन गाउँ फर्किएका । अझै काम गर्ने रहर लागेर बस्ने सोच बनाएका टमटा दिल्लीमा कडाइ गर्न थालेपछि कोरोनाबाट सुरक्षित हुन भन्दै आफ्नै गाउँ घर फर्किएका हुन् । महाकाली नगरपालिका–८ का बहादुर महर भारतको पञ्जाबमा काम गर्थे । उनी पनि भारत पिथौरागढ हुँदै धारचुला नाका भएर नेपाल फर्किएका छन् । बैतडी डिलाशैनी–७ का सुरेन्द्र बोहरा भारतको लोहाघाटमा काम गर्थे ।

पाँच÷छ महिनाअघि मात्रै कामको लागि गएका बोहरा पनि यहाँको नाका भएर घर फर्किएका छन् । बझाङ कपलेसेरीका ४८ वर्षीय विरजित जाग्री भारत उत्तराखण्डको थल क्षेत्रमा सडकमा काम गर्ने । गत मङ्सिरमा कामका लागि गएका जाग्रीले नयाँ वर्षमा घर फर्किने सोचाइ थियो तर त्यहाँ रहेका भारतीय समुदायले आफ्नो गाउँ फर्किनु भनेपछि चैत पहिलो सातामै घर फर्किएको बताए । अहिले सदरमुकाम खलङ्गास्थित पुलघाट भएर दैनिक भारतका विभिन्न शहरमा काम गर्ने दर्जनौँको सङ्ख्यामा स्थानीय घर फर्किरहेका छन् । दार्चुला, बैतडी र बझाङ घर भएका सर्वसाधारण खलङ्गा नाका भएर घर फर्किने गरेका हुन् ।

भारत सरकारले कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि कडाइ गर्न थालेपछि नेपाली दिनहुँ घर फर्किरहेका छन् । ‘गाउँको उत्पादनले तीन महिना खान पुग्दैन्’, जाग्रीले भने, ‘रोजगारीको नजिकको अवसर भनेकै भारत हो, त्यहाँ अहिले कामबाट फर्किन भनिरहेका छन्, अब फर्केर नआउनु, अहिले जान सक्नुहुन्छ भनेर भन्दैछन् ।’ सोही ठाउँ घर भएका लक्ष्मण जाग्री कोरोनाका कारण भारतमा पनि काम गर्न समस्या भएको सुनाउँछन् । उनका अनुसार सडकका ठेकेदारभन्दा पनि सर्वसाधारणले आफ्नो गाउँ जान भन्दैछन् । काम गर्न सक्ने वातावरण नभएपछि गाउँ फर्किएको उहाँले बताउनुभयो । कोरोनाको सङ्क्रमण देखिएपछि भारत सरकारले आवतजावतमा समेत कडाइ गरेको छ । भारतबाट नेपाल फर्किनेलाई सहज छ, तर भारत जान दिइएको छैन ।

दिल्लीबाटै फर्किएका नौगाड–३ का कमानसिंह ठगुन्ना पछिल्लो समय भारतले सुरक्षा जाँचसमेत कडाइ गरेको बताउँछन् । भारतभर कोराना सन्त्रास फैलिएको छ । यस्तो अवस्थामा आफ्नो ठाउँमा गएर सजगता अपनाउन भनेपछि नयाँ वर्ष अघि नै घर फर्किन बाध्य भएको उनले सुनाए । दार्चुला सदरमुकाम खलंगा मात्र हैन दत्तु, जौलजीवि, लाली, बैतडीको झुलाघाट र कञ्चनपुरका गड्डचौकी नाका भएर नेपाली दिनहुँ घर फर्किरहेका छन् । अस्थायी प्रहरी बिट पुलघाटले यहि चैत १ गतेबाट भारतका विभिन्न क्षेत्रमा एक महिना बढी काम गरेर फर्किनेको लगत राख्न शुरु गरेको बिटका इञ्चार्ज प्रहरी सहायक निरीक्षक प्रेमसिंह साउदले बताए । बिहीबारदेखि धारचुलाका स्थानीयलाई समेत नेपाल आउन बन्द गरिएको छ ।

भारतीय नागरिक नेपाल आउनै छोडेका छन् । सरकारको निर्देशनका साथै स्थानीयस्तरमा पनि कोरोनाबारे उच्च सतर्कताको अभ्यास शुरु गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताए । ‘अन्तर्रा्ष्ट्रिय सीमानाकामा प्राथमिकताका साथ सतर्कता अपनाइएको छ’ उनले भने । अहिले नेपाल र भारततर्फ हरेक व्यक्तिको पूल घाटमा दर्ता तथा स्वास्थ्य चेकजाँच गर्न थालिएको छ । जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयराज भट्टले कोरोना सङ्क्रमण नियन्त्रणको लागि सरसफाइमा ध्यान दिनुपर्ने बताए । अहिले भारतका दिल्लीदेखि विभिन्न क्षेत्रमा काम गर्ने दैनिक ३०÷४० जना मजदूर घर फर्किरहेका छन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed