Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ चैत ७, काठमाडौं । कोरोना भाइरसको सन्त्रासले पशुपतिनाथ मन्दिरलगायत देशभरका मठ मन्दिरमा भक्तजनको उपस्थिति कम हुन थालेको छ । पशुपतिनाथ मन्दिर परिसरमा सामान्य दिनमै दैनिक हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका थिए । चाड पर्वका दिन भने पशुपतिनाथ मन्दिरमा लाखौँ भक्तजन आउँछन् । बुधबार सरकारले २५ जनाभन्दा बढी मानिस एक ठाउँमा जम्मा भएर नबस्न आग्रह गरेपछि बिहीबारदेखि नै पशुपति क्षेत्र सुनसान छ । पशुपति क्षेत्रमा प्रत्येक वर्ष चैत्र कृष्ण अष्टमीदेखि शुरु भएको देशोद्धार पूजा, बज्रेश्वरी, वत्सलेश्वरी जात्रामा पनि विगत वर्षभन्दा कम भक्तजनको उपस्थिति छ ।

यसैगरी गुह्येश्वरीलगायत पशुपति क्षेत्रका अन्य मठ मन्दिरमा भक्तजनको कम उपस्थिति छ । सरकारको मार्ग्निर्देशन अनुसार पशुपति क्षेत्रमा २५ जनाभन्दा बढी मानिस जम्मा हुने कुनै पनि कार्यक्रम नगराउने विषयमा चारवटै सुरक्षा निकायसँग छलफल गरिएको पशुपति क्षेत्रको सुरक्षा हेर्नुहुने प्रशासकीय अधिकृत गौरीशङ्कर पुराजुलीले जानकारी दिए । देशोद्धार पूजा एवं जात्रामा पनि विधि पूरा गर्ने गरी कमभन्दा कम मानिसलाई उपस्थित हुन कोषले आह्वान गरेको छ । पशुपति क्षेत्रका भण्डारखाल, वनकाली, कैलाशडाँडा, मृगस्थलीलगायत उद्यान, सत्तल एवं पाटी पौवामा पनि समूहमा धेरै मानिस उपस्थित नहुन कोषले भक्तजनलाई आह्वान गरेको उनले बताए ।

मैतीदेवी मन्दिर परिसरमा एक महिनाअघि नै पूजा एवं भोजका लागि सत्तल पक्का गरेका भक्तजनले कोरोनाको सन्त्रासका कारण वैशाख अन्तिम साता गर्ने गरी स्थगन गरेका छन् । दैनिकरूपमा केही न केही अनुष्ठान भइरहने मन्दिर क्षेत्रमा बुधबारदेखि नै सुनसान रहेको मैतीदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सुपरभाइजर गृष्मा श्रेष्ठले जानकारी दिइन् । यसैगरी बौद्धनाथ चैत्यलगायत बौद्ध क्षेत्रका गुम्बामा पनि थोरै भक्तजको उपस्थिति छ । बौद्धको घ्योइलिसाङ उद्यानमा जम्मा हुने मानिस पनि कम छन् । चावहिलको धन्दो चैत्य परिसरमा कमै मानिस छन् । यहाँ सामान्य अवस्थामा आराम गरेर बस्नेको भीड देखिन्थ्यो । विद्यालयलगायत शैक्षिक संस्था बन्द भए पनि प्रायः सबै बालबालिका गाउँ गएका छन् । राजधानीमै रहेका बालबालिका पनि घर बाहिर निस्किएका छैनन् ।

राजधानी सुनसान बन्दै गएको छ । यातायातका साधन कम गुडेका छन् । सार्वजनिक यातायातमा सिट क्षमताअनुसार मात्र यात्रु राख्न सरकारले निर्देशन दिएको छ । ट्राफिक प्रहरीले सडकमा यसको अनुगमन गरेको देखिन्छ । केही सवारीले भने बुधबार अघि जस्तै गरी कोचाकोच गरेर यात्रु चढाइरहेका छन् । प्रहरीले कारबाही नगरेसम्म सिटभन्दा बढी यात्रु राख्न नछोड्ने देखिन्छ । सार्वजनिक यातायातमा जारी भीडले जोखिम बढ्ने देखिन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed