![]()
२०७६ फागुन २३, काठमाडौं । कोरोना भाइरसको त्रासका कारण फिल्मको छायाँकन सबै रोकिने भएको छ । नेपाल चलचित्र निर्माता संघले अहिले छायाँकनमा रहेका र जाने तयारीमा रहेका सबै फिल्मको छायाँकन रोक्न आग्रह गरेको हो । कोरोना भाइरसको जोखिम न्यूनिकरण गर्न भन्दै संघले अर्काे सूचना जारी नभएसम्म सम्पूर्ण फिल्मको छायाँकन रोक्न निर्माता संघले आग्रह गरेको हो ।
निर्माता संघका महासचिव रोज राणाद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारबाट कोरोना भाइरसको संक्रमणबाट बच्न पारिवारिक जमघट, मेला महोत्सव, जात्रा, पर्व लगायतका कार्यक्रममा सरिक नहुन र स्थगत गर्न अनुरोध भएको हुँदा हामी चलचित्रकर्मीले पनि कोरोना भाइरसबाट हुने जोखिम न्युनिकरणको लागि आफ्नो तह र तप्काबाट आम मानिसमा सचेतना जागृत गराउनका साथै छायाँकन भइरहेका फिल्महरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्नो फिल्मको छायाँकन कार्य स्थगित गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।’ निर्माता संघको यो आग्रहले अहिले छायाँकनरत फिल्म ‘ए मेरो हजुर ४’, ‘परदेशी २’ लगायतका केहीलाई असर पर्ने देखिएको छ ।



