Breaking News.... EverestOnlineKhabar
April 20, 2026

कोरोना भाइरस ः अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा

Loading

विश्वभर महामारीको रुप लिएको कोभिड १९ भनिने कोरोना भाइरसको उद्गमस्थल चीनमा मानवीय क्षति रोकिएको छ । तर, संक्रमित व्यक्तिको ज्यान गएपछि अमेरिकाको क्यालिफोर्नियामा आपतकाल घोषणा गरिएको छ । बितेका २४ घण्टामा कोरोना संक्रमणका कारण कसैको ज्यान नगएको र जम्मा १२ जना मात्र नयाँ बिरामी भेटिएको चिनियाँ अधिकारीहरुले बताएका छन् । यद्यपी, चीनबाहिर यो अवधिमा थप ५२ जनाको ज्यान गएको छ भने २१५९ जना नयाँ संक्रमित थपिएका छन् । उता, अमेरिकामा भने मृत्यु हुनेहरुको संख्या ११ पुगिसकेको छ ।

चीनमा भन्दा निकै ढिला गरी फैलिएको कोरोना संक्रमणका कारण मानवीय क्षति बढ्दै गएपछि तनावमा रहेको अमेरिकाले क्यालिफोर्निया राज्यमा आपत्तकाल घोषणा गरेको हो । पछिल्लोपटक अमेरिकामा ७१ बर्षीय एक बृद्धको कोरोना संक्रमणका कारण ज्यान गएको हो । उनी जापानबाट डायमण्ड प्रिन्सेस भनिने पानीजहाजमा यात्रा गर्ने व्यक्ति भएको अधिकारीहरुले बताएका छन् । अमेरिकाका १६ राज्यमा कोरोनाबाट कम्तिमा १५० व्यक्ति संक्रमित भएका छन् । विश्वभर अहिलेसम्म ९५,४८० वटा कोरोना संक्रमणका मामिला भेटिएका छन् ।

वल्डोमिटर्सडटइन्फोका अनुसार अहिलेसम्म ३,३६८ जनाको ज्यान गएको छ भने संक्रमित ६,४१९ जनाको अवस्था जटिल छ । हालसम्म ५३,६८८ संक्रमित उपचारपछि ठीक भएर घर फर्किएका छन् । कोरोना फैलिएका विश्वका अन्य मुलुकले पनि सतर्कता अपनाउन थालेका छन् । कोरोना संक्रमणका कारण १०७ जनाको ज्यान गइसकेको इटालीमा आज (शुक्रबार) देखि आगामी १० दिनसम्म देशभरका विद्यालय बन्द गरिएको छ भने इटालियन सिरी ए फुटबलसहित सबै व्यवसायिक खेलहरुलाई एक महिनाका लागि स्थगित गरिएको छ । फ्रान्सले पनि १२० भन्दा बढी विद्यालयहरुमा पठनपाठन बन्द गराएको छ । यसअघि नै चीन, हङ्गकङ्ग, जापान, इराक र संयुक्त अरब इमिरेट्सले कोरोना संक्रमण फैलन नदिन विद्यालय बन्द गरिसकेको छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed