![]()
२०७६ फागुन २२, नेपालगञ्ज । नेपालगञ्जमा खानेपानीको समस्या अन्त्य गर्न राप्ती नदीको पानी ल्याउने योजना कार्यान्वयनमा आएको छ । यहाँका खानेपानी उपभोक्ताको मागलाई ध्यानमा राखेर दीर्घकालीन रुपमा खानेपानीको समस्या समाधान गर्न लागिएको हो । योजना अन्तर्गत अहिले सो नदीमा पानी तान्ने इन्टेक जडान र पाइप बिछ्याउने काम अगाडि बढाइएको नेपाल खानेपानी संस्थान नेपालगञ्जका साइट इञ्जिनीयर सङ्गीता थापाले जानकारी दिएकी छन् । यो योजना २० वर्ष अघिको हो । विसं २०५६ मा शुरुआत भएको यो योजनाले त्यसबखत बजेट अभावका कारण पूर्णता पाउन सकेको थिएन ।
गत वर्ष पुनः शुरु गरिएको यो योजनालाई २०७५–७६ आर्थिक वर्ष्भित्र सक्ने लक्ष्य राखिए पनि फेरि दुई वर्ष थप गरिएको छ । योजनाको पहिलो चरणमा करिब १८ करोड रुपैयाँ बजेट लाग्ने अनुमान गरिएको छ । डुडुवा गाउँपालिका–४ कम्दीको सिंधनियाघाटबाट १६ हजार ८१७ मिटर पाइप जडान गरी राप्ती नदीबाट ल्याउने गरी योजनाको काम अघि बढाइएको उनले बताइन् । करिब २४ हजार ४७१ घरधुरी रहेको यहाँको जनसङ्ख्या करिब डेढ लाख रहेको छ । यहाँ हाल कारकादोमा रहेको चार लाख २० हजार लिटर र बागेश्वरी मन्दिर नजिक रहेको चार लाख ५० हजार लिटर क्षमताको पानी ट्याङ्कीबाट पानी वितरण हुँदै आएको छ ।
उनका अनुसार यहाँका करिब चार हजार ५०० घरधुरीले खानेपानी संस्थानको धारा जडान गरेका छन्। बिहान, दिउँसो र बेलुका गरी दैनिक ३५ लाख लिटर पानी प्रयोग हुने गरेको जनाइएको छ । अहिले यहाँ शुद्ध पानीको अभाव देखिएको छ । ३०० मिटर गहिराइसम्म हाते धारा जडान गर्दासमेत पर्याप्त पानी भेटाउन सकिएको छैन । यो एउटा दीर्घकालीन समस्याका रुपमा देखिएको छ । सोही अवस्थालाई दृष्टिगत गरी राप्ती सो योजना अघि सारिएको जनाइएको छ । रासस


