Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७ट फागुन १७, काभ्रे । पाँचखाल नगरपालिकाले ‘पाँचखाल नगर, कृषि शहर’को नारा घन्काउँदै आएको तीन वर्ष बित्नै लाग्यो । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिको नगरको नारामा झुमेका यहाँका अधिकांश कृषक वर्षेनी आश्वासनमा झुलिरहनुपर्ने बाध्यता छ । चालू आर्थिक वर्षदेखि हालसम्म २०० पावर ट्रेलर (हाते ट्र्याक्टर) का माग फाराम नगरको कृषि शाखामा निवेदनसहित आएका छन् । निवेदकमध्ये ८३ कृषकलाई मात्रै दिनसकिने नगरको क्षमता रहेको शाखा प्रमुख ईश्वर अधिकारीले बताए । ’हालसम्म प्राप्त निवेदनउपर छनोट गर्न बाँकी छ’, उनले भने ।

उनका अनुसार यसअघि माग भएकामध्ये करिब ३० प्रतिशत कृषकलाई पनि ५० प्रतिशत अनुदानमा प्रदान गरिएको हो । यसैगरी हाल नगरका ५५६ कृषकले प्लाष्टिक टनेल माग गरेकामा ९९, ११० पावर स्प्रेयर (विषादी छर्ने पम्प) मागमध्ये ४०, मिनी पावर टेलर १०६ मागमध्ये २४, जेनेरेटर ५४ मागमध्ये १०, इलेक्ट्रिक पम्प ९० मागमध्ये ३४ मौरीघार १४५ मागमध्ये ८३ र ८५ गोठ सुधार कार्यक्रम मागेकामा ३० मात्रै दिन सकिने कृषि शाखाले जनाएको छ । कृषीलाई आधुनिकता तथा व्यावसायिकतातर्फ लैजाने यी यान्त्रिकरणलगायत सामग्री ५० प्रतिशत अनुदानमा प्रदान गरिनेछ ।

शाखाको तथ्याङ्कले कृषकको माग वर्षेनी बढ्दोदरमा रहेको देखिन्छ । तर नपाको न्यून बजेटले कृषकका माग सम्बोधन गर्न नसकेको देखाएको छ । त्यसो त, नगरको नारा र कृषिमा विनियोजित वार्षिक बजेटको तारतम्य नमिलेको प्रष्ट देखिन्छ । विगत तीन वर्षदेखि नगरले वार्षिक ३० लाख रुपैयाँ हाराहारीमा कृषि क्षेत्रमा बजेट छुट्याउँदै आएको छ । ’बजेट कम हुँदा कृषकको माग सम्बोधन गर्न सकिएको छैन’, अधिकारीले गुनासो गरे । कृषिअन्तर्गत फलफूलका क्षेत्रमा पर्याप्त बजेट नहुँदा कार्यक्रम प्रभावित बन्दै गएको अधिकारीले बताए । वर्षेनी न्यून बजेटले पाँचखालको नाराले सार्थकता नपाउने वडा नं ७ का अध्यक्ष पुष्कर ढकाल बताउँछन । ’यही अनुपातमा बजेट विनियोजित भए पाँच वर्षमा डेढ करोड रुपैयाँ मात्रै हो, डेढ करोडले कसरी कृषि शहर बन्छ?,’ उनले प्रतिप्रश्न गरे ।

कृषिमा वार्षिक बजेट नथपिए कृषिमा आधुनिकीकरणअन्तर्गत कृषकका माग पूरा गर्न नसकिने उनको दुःखेसो छ । नगरप्रमुख महेश खरेल यस कार्यकालमा नगरको नारालाई सार्थकता बनाउने जिकिर गर्छन् । उनी भन्छन्, ’बजेट बढाउने प्रयास गरिरहेका छौँ, आगामी वर्षको बजेटका लागि उल्लेख्य प्रगति देखिन थालेको छ ।’ उनले कृषि र पशुपालन क्षेत्रमा लगानीकर्ता भित्र्याउने तयारी गरिरहेको बताए । उनको यसै आवभित्रको महत्वकाङ्क्षी योजनामध्ये लगानी सम्मलेन प्रमुख रहेको छ ।

’यसै आर्थिक वर्षभित्र लगानी सम्मेलन गर्दैछौँ, यसका लागि हामी निर्णय गरेरै तयारीमा जुटिसकेका छौँ’, खरेलले भने । उनले पाँचखालको समग्र विकासका लागि लगानीकर्ता तथा रोजगारदाताको सम्मेलन गर्ने निर्णय गरिएको बताए । उनी पाँचखालमा लगानी तथा पर्यटनका प्रचूर सम्भावना भएका स्थानमा सडक र्पुयाइसकिएको र वातावरणको दृष्टिकोणले लगानीकर्ता आकर्षण हुनु स्वाभाविक रहेको जिकिर गर्छन । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed