![]()
पाकिस्तानको कराची शहरस्थित कैमारी क्षेत्रमा रहस्यमय ग्यासका कारण १४ जनाको मृत्यु भएको छ । तर अहिलेसम्म यो ग्यासको श्रोत थाहा हुन सकेको छैन । सिन्ध प्रान्तको स्वास्थ्य विभागका अनुसार ज्यान गुमाउनेको संख्या १४ पुगेको छ । त्यहाँका अधिकारीहरु दुई दिनदेखि ग्यासको श्रोत पत्ता लगाउन जुटेका छन् । कैमारी क्षेत्रका मानिसहरुमा स्वास फेर्न अप्ठ्यारो हुने, आँखा, घाँटी र नाक पोल्ने तथा पानी आउने समस्या देखिएको छ । आइतबार रातिदेखि अचानक मानिसहरुको स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनेहरुको क्रम बढेको छ ।
सिन्ध प्रान्तका नगरपालिका मन्त्री नासिर हुसैन शाहका अनुसार प्रभावित मानिसहरुलाई अस्पताल भर्ना गरिएको छ र केही उपचारपछि घर फर्केका छन् । उनले घटनाबारे अनुसन्धान थालिएको जानकारी दिए । कराची विश्वविद्यालयको ल्याव तथा पीसीएसआईआरमा नमुना परीक्षणको काम भइरहेको उनले बताए । सिन्धका विपद व्यवस्थापन अधिकारी सलमान अहमदका अनुसार यो ग्यास कैमारी क्षेत्रमा अहिले पनि छ । उनले भने, ‘ कैमारी क्षेत्रको हावामा नाइट्रेट अक्साइड र नाइट्रोजन डाइअक्साइडको मात्रा धेरै छ । अरु सबै सामान्य छ ।’ कराची बन्दरगाहबाट पानी, धुलो र माटोको नमुना संकलन गरिएको र त्यसको परीक्षणको काम भइरहेको उनले बताए । प्रभावित व्यक्तिको रगतको नुमना पनि संकलन गरिएको छ । यी सबै रिपोर्टहरुबाट कुनै नतिजामा पुग्ने विश्वास अधिकारीहरुले लिएका छन् ।


