Breaking News.... EverestOnlineKhabar
June 15, 2026

Loading

२०७६ माघ २४, कास्की । पोखरा महानगरपालिका–१८ को सराङकोटमा खानेपानीको चरम अभाव विस्तारै हट्दै गएपछि स्थानीयवासी उत्साहित भएका छन् । हिमशृङ्खला, पोखरा उपत्यका, फेवाताल र सूर्योदय तथा सूर्यास्तको दृश्यावलोकनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा ख्याति कमाएको पर्यटकीय गन्तव्य सराङकोटमा निर्माणाधीन तीनवटा खानेपानी आयोजनामध्ये स्याउदे लिफ्टिङ खानेपानी योजना सम्पन्न भएर घरघरै धारा जडानसँगै स्थानीयवासीमा खुशी छाएको हो । आर्थिकरुपमा सक्षम हुनेले ट्याङ्करबाट मगाएर पानीको जोहो गरे पनि एक गाग्री पानीका लागि बिहान सबेरै उठेर एक÷डेढ घण्टा समय व्यतीत गर्न बाध्य महिला एक घर एक धाराबाट बढी खुुशी भएका हुन् । यससँगै पानी लिन जान लाग्ने समय अब उनीहरुले तरकारी उत्पादनमा लगाउँदै आयआर्जन गर्ने प्रण गरेका छन् ।

विसं २०७५ माघ २३ गते शिलान्यास भएको योजना एक वर्षमै सम्पन्न भई सराङकोटको ढकालथर टोलका ९२ घरधुरीमा धारा जडान भएर दैलोमा पानी झरेसँगै स्थानीयवासीको मुहार उज्यालिएको हो । यसबाट ४५२ स्थानीयवासी प्रत्यक्ष लाभान्वित भएका छन् । गण्डकी प्रदेश सरकार गठनको पहिलो वर्षमा सराङकोटमा खानेपानीको चरम अभाव समाधान गर्न तीन योजना परेकामा स्याउदेसँगै बुढीमूल र तोरीपानी खानेपानी योजनासमेत सम्पन्न हुने अन्तिम चरणमा पुगेको बताइन्छ । स्याउदे खानेपानी योजना प्रदेश सरकारको रु एक करोड तीन लाख २७ हजार ४१७, जनसहभागिता रु १३ लाख नौ हजार ५०० तथा ढकालथर टोल विकास संस्थाले रु एक लाख ६३ हजार गरी रु एक करोड १७ लाख ९९ हजार ९१४ लागतमा सम्पन्न भएको हो ।

गाउँभन्दा दुई किलोमिटर परको स्याउदे मूलबाट लिफ्टिङ प्रविधिबाट पानी माथि डाँडामा तानेर ट्याङ्कीमा जम्मा गरेर आठ किमि वितरण लाइनमार्फत स्थानीयवासीको घरघरमा धारा पु¥याइएको छ । तोरीपानी खानेपानी योजनाका लागि प्रदेश सरकारले रु दुई करोड बजेट विनियोजन गरेको छ । त्यस्तै बुढीमूलका लागि आर्थिक वर्ष २०७५र०७६ मा रु ९९ लाख ७० हजार तथा चालु आर्थिक वर्षमा रु एक करोड २० लाख बजेट विनियोजन भएको छ । शुद्ध पिउने पानीको अभावमा वर्षौंदेखि समस्या झेलिरहेका स्थानीवासी योजना सम्पन्न भएसँगै अत्यन्त खुःशी भएको उपभोक्ता समितिका सचिव बेलबहादुर ढकालले बताए । शिलान्यासको एक वर्षमा विभिन्न बाधा अवरोध एवं कठिनाइसँग जुध्दै योजना सम्पन्न गराउन सफल भएकामा एउटा युद्ध जितेको महसुस भएको उनले उल्लेख गरे ।

उनले भने, ‘पहिला छोराको विवाह गर्नका लागि केटी माग्न जाँदा खानेपानीको समस्या देखाउँदै छोरी नदिने गाउँमा लिफ्टिङपछि एक घर एक धारा जडान भएर पानीको अभाव हटेको छ । हाम्रो जीवनमा सरल, सहज र हरियाली छाएको छ ।’ कुर्दै, दुःख गर्दै, पर्खदै गरेको लामो समयपछि पानीको सुविधा प्राप्त गरेकाले सबैभन्दा बढी खुशियाली महिलामा छ । एक गाग्री पानीका लागि बिहान ४ बजे उठेर कुवा र पँधेरो जानुपर्ने बाध्यताले महिलाको दैनिकी भान्छामा सीमित भएको अवस्थामा अब तरकारी उत्पादनमा आफूहरुले त्यो समयलाई उपयोग गर्ने तयारी गरेको सम्झौता आमा समूहका अध्यक्ष जानुका ढकालले बताइन् ।

‘पिउने पानी घरको आँगनको डिलमा खस्दा सबैभन्दा बढी महिला दिदीबिहिनीमा खुशी र उत्साह छाएको छ’, उनले भने, ‘बिहान झिसमिसे उज्यालो नहुँदै पँधेरो जान्थ्यौँ । कहिले रातिको १० बजे पनि बज्थ्यो, घरमा पानी झरेपछि हामी खुशी छौँ । हाम्रो थाप्लोबाट नाम्लो टुटाउने सरकारलाई धन्यवाद ।’ वडाध्यक्ष रणबहादुर थापाले प्रदेश सरकार गठनको पहिलो वर्षमा प्रदेशसभा सदस्य रामजीप्रसाद बरालसमक्ष खानेपानीका तीन र सडकका चार योजना पेश गरेकामा सातवटै योजना पर्न सफल भएको उल्लेख गरे ।

दुईवटा पानीको योजना निकट भविष्यमा सम्पन्न हुने चरणमा रहेको तथा थप दुई वटाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर०को काम भइरहेकाले दुई वर्षमा वडाको कुनै पनि घरमा पानीको असुविधा नहुने स्पष्ट पारे । गत वर्ष माघ २३ गते आयोजना शिलान्यास गरेका गण्डकी प्रदेशसभा सदस्य बरालले एक वर्षपछि सोही दिनमा नै आयोजनाको उद्घाटन गर्न पाउँदा खुशी व्यक्त गरे । उनले प्रदेश सरकारले नजिकबाट जनताका समस्या पहिचान गर्दै समाधान गर्ने गरेकाले सराङकोटभरिको मूल समस्या रहेको खानेपानी अभाव छिट्टै हट्ने विश्वास दिलाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.