Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ १०, दैलेख । जिल्ला अस्पताल कार्यालय दैलेख देशभरका अस्पतालको न्यूनतम सेवा मापदण्डमा दोस्रो उत्कृष्ट अस्पतालको सूचिमा परेको छ । देशभरका ८४ जिल्ला अस्पतालको न्यूनतम सेवा मापदण्डबारे गरिएको सर्वेक्षणका आधारमा दैलेख जिल्ला अस्पताल ९२ प्रतिशत अङ्क ल्याएर उत्कृष्ट सेवा प्रवाह गर्ने अस्पतालमा परेको हो । चौरानब्बे प्रतिशत अङ्क ल्याएर सिन्धुली अस्पताल पहिलो भएको छ । ९० प्रतिशत हाराहारीमा अङ्क ल्याएर गुलरिया अस्पताल र मातृ शिशु मितेरी अस्पताल उत्कृष्ट अस्पतालमा परेका छन् । ८४ अस्पतालमध्ये दैलेख दोस्रो उत्कृष्ट सेवा प्रदान गर्ने अस्पतालका रुपमा परेको हो ।

जिल्ला अस्पताल दैलेखमा विगत तीन वर्षअघिदेखि प्रमुखको जिम्मेवारी पाएसँगै अस्पताल क्षेत्रमा देखिएका धेरै समस्याको समाधानमा लाग्नुभएको डा.नीरञ्जन पन्तले स्वास्थ्य सेवाका लागि आवश्यक पर्ने औजार, उपकरण, बिरामी बस्ने श्यया थप्नेदेखि धेरै सुधारका काम गरेको बताए । पन्ध्र शैयाको स्वीकृति पाएको जिल्ला अस्पताल दैलेखलाई प्रदेश सरकारले यो वर्षबाट ५० श्ययाको बनाएको भए पनि घोषणा गर्नु अगाडि विगत दुई वर्षदेखि दैलेखमा ५२ श्ययामा उपचार सेवा प्रदान हुँदै आएको छ । अस्पतालबाट बालबालिकाका लागि छुट्टै सेवा प्रदान हुँदै आएको छ ।

अक्सिजन सेवा र आकस्मिक सेवा निरन्तर सञ्चालनमा छ । अस्पतालमा नियमितरुपमा विशेषज्ञ सुत्केरी सेवा सञ्चालन हुँदै आएको छ । डा.पन्त आफै विशेषज्ञ भएकाले पनि काममा धेरै सहजता देखिएको छ । हरेक वर्ष १०० बढी हर्निया, हाइड्रोसिलजस्ता बिरामीको प्रमुख शल्यक्रिया गर्ने गरेको डा.नीरञ्जन पन्तले जानकारी दिए । प्रयोगशालामा उत्कृष्ट सेवा प्रदान गरिएको छ । डिजिटल एक्स–रे, अल्ट्रासाउण्ड, हाई केयर युनिट, दाँत सेवालगायतका सेवा जिल्ला अस्पताल दैलेखबाट प्रदान गरिँदै आएको छ । बिरामीका लागि दुई वटा एम्बुलेन्स पनि सञ्चालन गरिएको छ ।

स्वास्थ्य सेवा प्रभावकारी बनाउन सामाजिक स्वास्थ्य एकाइ गठन गरिएको छ । असहाय, गरिब, विपन्न समुदायका नागरिकका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिएको छ । यसका लागि रु १५ लाख रकम विनियोजन गरिएको दैलेख जिल्ला अस्पतालका अध्यक्ष लोमन शर्माले जानकारी दिए । बिरामीका लागि यातायात, उपचार खर्चबारेमा जिल्ला अस्पतालले सेवा प्रदान गरेको छ । विभिन्न खाले महिला हिंसा र विपतमा परेका नागरिकका लागि पनि छुट्टै सेवा प्रवाह गरेको जिल्ला अस्पताल दैलेखका प्रमुख डा.नीरञ्जन पन्तले जानकारी दिए । नेपालका ठूला अस्पतालमा प्रदान गरिने ल्याब सेवा दैलेखमा शुरु गरिएको छ ।

उनले भने, ‘प्यारालाइसिस भएका बिरामीसँगै अन्य हाडजोर्नी र नशासम्बन्धी समस्या भएका नागरिकका लागि फिजियो थेरापीको शुरुआत गरिने भएको छ । बिरामीलाई प्रदान गर्ने खानाको दैनिकरुपमा निरीक्षण गर्दै अझै प्रभावकारी बनाउने अभियान थालिएको छ ।’ अब केही महिनाभित्रै इलेक्ट्रोनिक मेडिकल रिपोर्ट निकाल्ने तयारी थालिएको छ । जिल्ला अस्पताल कार्यालयले स्वास्थ्य तथा सरसफाइलाई समेत प्राथमिकताका साथ अगाडि बढाएको र इमरजेन्सी सेवालाई समेत प्रभावकारी बनाउँदै उपचारका लागि सबै डाक्टर एकजुट भएर उपचार गर्ने गरेको अहेव नमराज सुवेदीले बताए । पचास श्ययाको अस्पताल निर्माणका लागि प्रदेश सरकारले यो वर्ष रु दुई करोड रकम विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed