Breaking News.... EverestOnlineKhabar
April 21, 2026

Loading

२०७६ माघ ०८, स्याङजा । घण्टौं लगाएर खानेपानीको जोहो गर्दै आएका गल्याङ नगरपालिका–९ स्थित बेलचौर,पाखीचौर र जामुनेका स्थानीय बासिन्दा ‘एक घर एक धारा’ अभियानले खुशी भएका छन् । पहिले एक घण्टा लगाएर एक गाग्री पानी ल्याउने गरेका यहाँका वासिन्दा अहिले घरमै धारा जडान भएपछि धेरै सजिलो भएको बताउँछन् । बेलचौरकी हीरा खनालले भने,‘पहिला खानेपानी लिनको लागि गाउँदेखि तल रहेको धुवादी कुवामा जानुपथ्र्यो अहिले घरमै पानीको धारा आएपछि निकै खुशी लागेको छ ।’ पानीको सुविधा भएपछि उहाँले करेसाबारीमा बन्दागोभी, मुला, साग, लसुन, प्याजलगायतका तरकारी खेतीसमेत शुरु गरेका छन् ।

अर्की स्थानीयवासी देवकी खनाल पनि घरमै पानीको धारा आएपछि दङ्ग परेका छन् । पानीको अभावमा कुवार खोला चाहर्दै हिँडेको सम्झँदै खनालले भने,‘खानेपानी आयोजनाले हाम्रो जीवनमा धेरै परिवर्तन ल्याएको महसुस गरेका छौँ । पहिला पानीकै कारणले मेलापालसँगै अन्य काम भ्याउन कठिन थियो । अहिले घरको कामसँगै समय निकालेर तरकारी लगाउन थालेका छौँ ।’ बेलचौर लिफ्टिङ खानेपानी आयोजनाका उपभोक्ता समितिका अध्यक्ष निमप्रसाद खनालले रु दुई करोड २० लाखको लागतमा अयोजनाको निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

सो आयोजनाको लागि गल्याङ नगरपालिकाले रु २० लाख, गण्डकी प्रदेश सरकारले रु एक करोड ७० लाख र उपभोक्ताबाट रु ३० लाख बराबरको जनश्रमदान गरी कुल रु दुई कारोड २० लाखको लागतमा योजना सम्पन्न गरिएको उपभोक्ता समितिले जनाएको छ । कालीगण्डकी नदीको किनारबाट करिब २४० मिटरको उचाइमा पानी तानेर एक लाख लिटरको ट्याङ्की निर्माण गरी त्यसबाट १३५ घरधुरीमा धारा वितरण गरिएको उपभोक्ता समितिका अध्यक्ष खनालले बताए । गल्याङ नगरपालिकाका प्रमुख भूपराज अधिकारीले पानीको समस्या भएका वडामा प्रदेश र सङ्घीय सरकारसँग सहकार्य गरेर खानेपानीको सुविधा उपलब्ध गराइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed