![]()
२०७६ माघ ०२, काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले विहीबारदेखि शनिबारसम्म तीन दिन मुलुकका मध्य तथा पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको जनाएको छ । पश्चिमी न्यून चापीय वायुका कारण उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा भारी हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको हो । महाशाखाका अनुसार मध्य तथा पश्चिमी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना पनि छ । मध्य तथा पश्चिम र पूर्वी पहाडी भू्भागमा सामान्य बदली भई बाँकी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
यस्तै, बिहिबार देशको मध्य तथा पश्चिमी भू–भाग लगायत पूर्वी पहाडी भू्–भागमा सामान्य बदली रहि बाँकि भू्–भागमा आंशिक बदली रहनेछ । मध्य तथा पश्चिमी भू–भागका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा हुन्छ , भने पश्चिमी तथा मध्यका उच्च पहाडी र हिमाली भेगका केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
यस्तै, शुक्रबार देशको मध्य तथा पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ साथै पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा भारी हिमपातको सम्भावना छ भने पश्चिमि उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
यस्तै, शनिबार देशको पश्चिमी भू्–भागमा सामान्य बदली रही बाँकी भू्–भागमा आंशिक बदली रहनेछ । पश्चिमी भू–भागका थोरै स्थानहरुमा हल्का वर्षा हुने देखिन्छ भने पश्चिमी उच्च पहाडी तथा हिमाली भेगका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले देशका पहाडी भू(भागमा हल्कादेखि मध्यम वर्षा साथै मध्य र पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा मध्यम देखि भारि हिमपातको सम्भावना रहेकोले उच्च पहाडी तथा हिमाली भेगमा चिसोबाट बच्नका लागि सुरक्षा अपनाउन अनुरोध गरेको छ ।


