Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ पुस २७, काठमाडौं । राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन् । राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा सांसद डा विमला राई पौडेलले दिलीप हत्या प्रकरणमा संलग्न व्यक्तिलाई सजाय मात्रै दिनेभन्दा पनि अब कहिलै त्यस्तो हुँदैन भनेर सुनिश्चित गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘छाडा क्रसर उद्योगको छाडापन रोक्नुपर्छ, उत्खनन नियमन गर्नुपर्छ, ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खननको दीर्घकालीन समाधान खोज्नुपर्छ, राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले अवैध क्रसर उद्योग रोक्न के काम गर्दैछ जवाफ चाहिन्छ ।’ सांसद कोमल वलीले दिलीप महतोको हत्याको विरोध गर्दै अपराधीलाई कडा कारवाही गर्नाका साथै सो घटनाबाट जनतामा आएको त्रसित मानसिकता हटाउनुपर्ने बताइन ।‘मानवता कमजोर भएको छ, त्यस घटनामा प्रहरी प्रशासन उदासीन देखिन्छ, राज्यमा सरकार छ, प्रहरी प्रशासन छ, प्रहरी प्रशासनप्रति विश्वास गर्ने वा नगर्ने अन्योल छ ।’

सांसद वृषेशचन्द्र लालले वातावरण र नदीनालाको संरक्षणको कुरा गर्दै गर्दा दिलीप महतोलाई टिपरले किचेर हत्या हुँदा त्यसका बारेमा प्रहरी प्रशासन किन चुप लागेको छ भन्दै प्रश्न गरे । ‘बिनामुचुल्का प्रहरीले शव उठाएको छ, त्यसमा प्रहरी प्रशासनको मिलेमतो हुनसक्छ, यसले देशको शान्तिसुरक्षाको अवस्था झल्किन्छ,’ उनले भने । सांसद प्रमिला कुमारीले पछिल्लो समयमा देशका विभिन्न स्थानमा हत्या, हिंसा मौलाउँदै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । सांसद रामलखन चमारले सरकारले अगाडि सारेको शिक्षाका लागि निब्र्याजी ऋण दिने विषयलाई व्यावहारिरूपमै कार्यान्वयन गर्नुपर्ने माग गरिन् ।

सांसद जीतेन्द्रनारायण देवले एमसिसी सम्झौतालाई सरकारले जस्ताको तस्तै कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । उनले भने, ‘नेपालको परराष्ट्र नीतिको सञ्चालन संविधानले निर्दिष्ट गरेको बाटोबाट सञ्चालन हुने हो÷होइन वा कुनै अमुक पार्टीको सिद्धान्तको आरधारमा निर्दिष्ट हुने हो, एमसिसी अनावश्यक ढङ्गले कसैको इशारामा अगाडि बढाउनु हुँदैन ।’

सासंद शेरबहादुर कुँवरले पृथ्वीनारायण शाहले मुलुक निर्माणमा पु¥याउनुभएको योगदानको चर्चा गर्दै राज्यले राष्ट्रका विभूतिलाई बिर्सिन नहुने बताए । उनले पर्यटन वर्ष मनाउँदै गर्दा सरकारले नगरकोट जाने बाटोको अवस्था सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन बुढाले सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगलाई पूर्णता दिनुपर्ने माग गरे । सांसद विन्दादेवी आले रानाले वाइड बडी प्रकरणबारे सरकार किन मौन छ भन्दै प्रश्न गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed