![]()
२०७६ पुस २७, भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले माघ १ गते १५ औं अन्नदान मेला आयोजना गर्न लागेको जानकारी दिए ।
अन्नदान मेलाले मन्दिरको दैनिक पूजा एवं आरती व्यवस्थापनमा टेवा र्पुयाउँदै आएको छ । अन्नदान मेलामा विगतका वर्षमा स्थानीयवासीले मात्रै सहभागिता जनाए पनि यस वर्ष सबै क्षेत्रका बासिन्दालाई मेलामा सहभागिता जनाउन अध्यक्ष कासुलाले आह्वान गरे । अन्नदान मेलामा धान, चामल, गहुँ, जौँलगायतका अन्नका साथै स्वेच्छाले आर्थिक दान दिन आह्वान गरिएको हो ।
त्यसैगरी समितिले मन्दिर परिसरमा निर्माण भइरहेको र हुने भौतिक संरचना समेटिएको सात करोड लागतको गुरुयोजना सार्वजनिक गरेको छ । मन्दिरको पूर्वतर्फ बहुउपयोगी सामुदायिक भवन, मूल मन्दिर, कलात्मक गेट, भजनपाटी लगायतको भौतिक संचरना निर्माणको गुरुयोजना सार्वजनिक गरिएको हो ।
प्रसिद्ध धार्मिकस्थल मानिने नन्दीकेश्वर महादेव मन्दिरमा वैशाख पूर्णिमाको दिन १०८ कन्यासहितको खट जात्रा, श्रावणी मेला एवं प्रत्येक सङ्क्रान्तीमा विशेष पूजा, माघ १ गते अन्नदान, जनैपूर्णिमा मेला, हरितालिका तीज मेला, नवरात्रि मेला, सकिमना पूर्णिमा मेला, शिवरात्रि मेला लाग्ने गर्दछ ।


