![]()
इटालियन सिरिए एमा क्रिस्टियानो रोनाल्डोले पहिलो ह्याट्रिक गर्दा युभेन्टसले काग्लियारीमाथि ४–० को सहज जीत निकालेको छ । पहिलो हाफ गोलरहित रहे पनि दोस्रो हाफको सुरुवतामा रोनाल्डोले अग्रता दिलाएका थिए । खेलको ६७ औँ मिनेटमा मार्को रोगले पाउलो डिबालालाई फल गरेपछि युभेन्टसले पेनाल्टी पायो जसलाई रोनाल्डोले सहजै गोलमा परिणत गरे । रोनाल्डोले त्यसपछि गोन्जालो हिग्वाइनका लागि गोलको अवसर सृजना गर्दै युभेन्टसलाई ३–० को अग्रता दिलाए । त्यसको केही मिनेटपछि नै रोनाल्डोले तेस्रो गोल गर्दै करियरको ५६ औँ ह्याट्रिक पूरा गरे ।
योसँगै रोनाल्डो युरोपको शीर्ष तीन लिगमा ह्याट्रिक गर्ने एलेक्सिस सान्चेज पछि दोस्रो खेलाडी बनेका छन् । रोनाल्डोले इङ्ग्ल्याण्ड, स्पेन र इटालीमा ह्याट्रिक गरेका छन् । रियल म्याड्रिडबाट सन् २०१८ मा युभेन्टस आएपछि रोनाल्डो यतिबेला उत्कृष्ट फर्ममा रहेका छन् । उनले लिगका पछिल्ला ५ खेलमा गोल गरेका छन् । जीतपछि केही समयका लागि युभन्टेस लिगको शीर्ष स्थानमा उक्लिए पनि इन्टर मिलानले नापोलीलाई ३–१ ले हराउँदै गोल अन्तरको आधारमा पुनः शीर्ष स्थानमा उक्लियो ।


