![]()
काठमाडौ,१९ जेठ ।
भावी प्रधानमन्त्री नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा कुन मन्त्रालय कुन दलले लिने भन्ने विषयमा सरकारमा सहभागि हुने दलहरुबीच छलफल चलिरहेको छ । माओवादी केन्द्र निकट श्रोतका अनुसार कांग्रेस, माओवादीसँगै विजय कुमार गच्छदार र कमल थापाको पार्टी पनि सरकारमा जान तयार भएका छन् ।
अघिल्लो सरकार बन्दा नै भएको सहमति अनुसार देउवा नेतृतवको सरकारमा नेपाली कांग्रेसले अर्थ र माओवादीले गृह मन्त्रालय पाउने भएका छन् । कांग्रेसबाट रमेश लेखक र महेश आचार्यको नाम अर्थ मन्त्रीको रुपमा चर्चामा छ ।
देउवाले आफ्नै खेमाको मान्छेलाई अर्थमन्त्री बनाउन चाहेको खण्डमा रमेश लेखक उपप्रधान तथा अर्थमन्त्री बन्ने छन् । देउवाले पार्टी भित्रकै शक्ति सन्तुलन कायम गर्न चाहेमा महेश आचार्य अर्थमन्त्री हुने छन् । आचार्य रामचन्द्र पौडेल खेमाका नेता हुन् ।
लेखक र आचार्य कांग्रेस भित्र दुबै जना राम्रो छवि भएका नेता मानिन्छन् । माओवादी भित्र पनि गृह सहित कसको नेतृत्वमा सरकारमा प्रतिनिधित्व गर्ने भन्ने विषयमा छलफल चलिरहेको छ । श्रोतका अनुसार अहिले सकारात्मक छवि बनाएका उर्जामन्त्री जनार्दशन शर्मा गृह सहित माओवादीको नेतृत्व गर्दै सरकारमा जाने चर्चा छ ।
माओवादी भित्र नारायणकाजी श्रेष्ठ समुहका गिरीराजमणी पोख्रेलको नेतृत्वमा सरकारमा जाने बहस पनि चलेको छ । अहिलेका अर्थमन्त्री कृष्णबहादुर महरा स्वयमले पनि सरकारमा जान खोजेका छन् । बाबुराम भट्टराई खेमाका मानिने टोपबहादुर रायमाझि पनि माओवादीको नेतृत्व सहित सरकारमा जान चाहेका छन् । बाबुराम भट्टराई माओवादीबाट अलग्गिएपछि चाहिँ रायमाझीले धार क्लियर गरेका छैनन् । अगामी सरकारमा नेपाल लोकतान्त्रिक फोरमवाट भने अध्यक्ष विजयकुमार गच्छदारले नै नेतृत्व गर्ने करिब निश्चित भएको छ ।


