![]()
काठमाडौ,१७ जेठ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि उपत्यकामा पैदल यात्रु सुरक्षा अभियान लागू गरेको छ । करिब डेढ महिना जनचेतनाका कार्यक्रम सञ्चालन गरेर नियम लागू गरिएको पहिलो दिनमै साढे ३३ हजार पैदल यात्रु कारबाहीमा परेका छन् ।
दुर्घटना न्यूनीकरण गर्न महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबारदेखि पैदल यात्रु सुरक्षा अभियानको नियम लागू गरेको डिआइजी मिङमार लामाले बताए । उनका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा जथाभावी सडक पार गर्ने ३३ सय ४८ पैदल यात्रु कारबाहीमा परेका छन् ।
पैदल यात्रु सुरक्षा अभियान नियम लागू भएको पहिलो दिनमै कारबाहीबाट ४२ हजार चार सय बढी राजश्व संकलन भएको ट्राफिक प्रहरी महाशाखाका डिआइजी मिङमार लामाले जानकारी दिए ।
महाशाखाका अनुसार जेब्रा क्रसिङबाहेक जथाभावी सडक पार गर्ने २ हजार एक सय २० पैदल यात्रुबाट जनही २ सयका दरले राजश्व असुल गरिएको छ । जरिवाना तिर्न नसकेका एक हजार २ सय २८ पैदल यात्रुलाई सडक सुरक्षा कक्षा लिएपछि छाडिएको डिआइजी लामाले बताए ।
उपत्यकामा सबै भन्दा बढी काठमाडौंमा पैदल यात्रु कारबाहीमा परेका छन् । काठमाडौंको दरबारमार्गमा दुई सय ४० र नयाँ बसपार्क क्षेत्रमा २ सय २१ जना कारबाहीमा परेका छन् ।


