Breaking News.... EverestOnlineKhabar
May 12, 2026

आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनुहुन्न: सत्तारुढ दल नेकपा

Loading

काठमाडौँ — सत्तारुढ दल नेकपाले भेनेजुएलामा भएको राजनीतिक संकटप्रति चासो राख्दै कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने धारणा अघि सारेको  छ । अध्यक्ष पुष्पकमल दाहालले यसअघि जारी गरेको वक्तव्य विवादमा परेपछि नेकपा सचिवालयको बैठकले सोमबार पुन: पार्टीको आधिकारी धारणा प्रस्ट्याएको हो ।दाहालले यसअघि अमेरिकालाई लाञ्छित गर्दै वक्तव्य जारी गरेका थिए । सोमबारको सचिवालय बैठकले भने कुनै मुलुकप्रति इंगित गरेको छैन । त्यहाँका जनताको सार्वभौम अधिकारको सम्मान हुनुपर्ने धारणा मात्र राखेको छ ।

‘हालैको दिनमा भेनेजुएलामा विकासित भएका भएको राजनीतिक घटनाक्रमप्रति हाम्रो पार्टीको केन्द्रीय सचिवालयको आजको बैठकको ध्यानाकर्षण भएको छ,’ बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘हाम्रो पार्टी हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्छ । कुनै पनि देशको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुन नहुने र कुनै पनि देशमाथि कुनै पनि प्रकारको समस्या पैदा भएमा त्यस देशका जनताले स्वतन्त्रतापूर्वक शान्तिपूर्ण बाटोबाट समाधान गर्नुपर्दछ भन्ने मान्यता राख्दछ । हाम्रो पार्टी विश्वशान्ति, समझदारी र समृद्धिको पक्षमा छ ।’ पार्टी संयुक्त राष्ट्रसंघको बडापत्र र पञ्चशलीका सिद्धान्तहरुप्रति सदा प्रतिबद्ध रहँदै आएको नेकपाले उल्लेख गरेको छ ।

‘यस पार्टीको विदेश नीति र अन्तराष्ट्रिय सम्बन्धका प्रश्नमा कुनै अन्योल र दुविधा छैन,’ बैठकको निर्णयमा छ, ‘यससम्बनधमा पार्टीको दुष्टिकोण र नीतिहरु स्पष्ट र स्थिर छन् । हाम्रो पार्टी संयुक्त राष्ट्रसंघको वडापत्र र पञ्चशीलका सिद्धान्तहरुप्रति सदा प्रतिबद्ध रहि आएको छ ।’

बैठकले नेकपाको एकता प्रक्रिया टुंग्याउनका लागि गठित कार्यदललाई आफ्नो रिपोर्ट मंगलबारसम्म बुझाउन निर्देशन दिएको छ । कार्यदलले रिपोर्ट बुझाएपछि त्यसमा भएको प्रगतिका आधारमा स्थायी समिति एकताको टुंगो लगाउने प्रवक्ता श्रेष्ठले बताए । उनका अनुसार पार्टीको राजनीतिक प्रतिवेदन र गत स्थायी समितिमा पेश भएको प्रतिवदेन पनि छिट्टै प्रकाशित गर्ने उनले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.