Breaking News.... EverestOnlineKhabar
June 19, 2026

पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन

Loading

 

पार्टी एकता भएको आठ महिना बितिसक्दा पनि नेकपाभित्रको आन्तरिक विवाद मिल्न सकेको छैन । पार्टीका तल्लो तहका निकायहरू सक्रिय हुन सकेका छैनन् ।गत पुसमा बसेको स्थायी समिति बैठकले एकताका बाँकी काम पूरा गर्नका लागि प्रस्ताव बनाउन कार्यदल बनाएको थियो । उक्त कार्यदलले प्रतिवेदन बुझाउन नसक्दा एकताकोबाँकी काम लम्बिएको हो ।

स्थायी समितिले संगठन एकतासम्बन्धी प्रस्ताव तयार गर्न रामबहादुर थापा, महासचिव विष्णु पौडेल, शंकर पोखरेल, वर्षमान पुन, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, लेखराज भट्ट, बेदुराम भुसाल र रघुवीर महासेठ रहेको कार्यदल बनाएको थियो । पुसभित्र प्रस्ताव बनाई एकताको काम सक्ने भनिएको थियो । तर कार्यदलकै नियमित बैठक बस्न सकेको छैन । ‘केही बैठक भएका छन्, छलफल पनि चलिरहेको छ, व्यस्तताका कारण सबै काम सकिएको छैन।
प्रदेश कमिटीहरूमा रहने सदस्यका नामबारे पार्टीभित्र विवाद छ । यही विवादलाई कार्यदलले मिलाउन नसकेको हो । यसअघि सचिवालयले प्रदेश कमिटीहरू चयन गरेको थियो । त्यसमा रहने व्यक्ति छनोटको मापदण्ड एउटै नभएको, आफूनिकटकालाई मात्र जिम्मेवारी दिइएको भन्दै स्थायी समिति सदस्यले आपत्ति जनाएका थिए । वरिष्ठता र पार्टीभित्रको योगदानलाई कदर नगरिएको भन्दै प्रदेशस्तरमा पनि असन्तुष्टि चुलिएको थियो । त्यसैले चयन गरिएका नाममाथि पनि पुनर्विचार गर्ने र एउटै मापदण्डबाट सदस्य छनोट गर्ने गरी स्थायी समितिले कार्यदललाई मापदण्ड बनाउन जिम्मेवारी दिएको थियो ।

तर यसअघि सिफारिस भइसकेका व्यक्तिलाई हटाउने विषयमा शीर्ष नेताहरूबीच कुरा मिलेको छैन । त्यसकै कारण कस्तो मापदण्ड बनाउने भन्ने निष्कर्षमा कार्यदल पुग्न नसकेको हो । एक नेताका अनुसार शीर्ष नेतासँगै छलफल गरेर मापदण्ड आधार तयार गर्ने कार्यदलको तयारी छ ।

नेकपाले माघ महिनाभित्र संगठनको काम सकेर फागुनदेखि देशव्यापी अभियान चलाउने तयारी गरेको थियो । स्थायी समिति बैठकमा अध्यक्षहरूले यस्तो प्रस्ताव गरेका थिए । तर एकताको प्रस्ताव तयार गर्नै समय लागेपछि यो कार्यक्रम पनि अनिश्चित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed