Breaking News.... EverestOnlineKhabar
June 27, 2026

चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई लेखा समितिको निर्देशन, मूल्य बढाउने व्यापारीलाई कारवाही गर्न माग

Loading

काठमाडौं । संघीय संसदको सार्वजनिक लेखा समितिले प्रतिकेजी चिनीको मूल्य ६३ रुपैयाँ कायम राख्न सरकारलाई निर्देशन दिएको छ । समितिको  सिंहदरबारमा बसेको बैठकले चिनीको खुद्रा बिक्री मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम राख्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।

चाडपर्वका बेला चिनीलगायतका दैनिक उपभोग्य  वस्तुको मूल्य बढाउने व्यापारीमाथि कडा कार्वाही गर्न पनि सरकारलाई सचेत गराइएको समितिका सभापति भरतकुमार शाहले जानकारी दिए । बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्रतिकेजी चिनीको मूल्य ७० रुपैयाँ तोक्ने निर्णय गरेको थियो । समितिले सरकारको सो निर्णयप्रति आपत्ति जनाउँदै प्रधानमन्त्री केपी ओली र चिनी उद्योगीबीच केही समय अघि भएको सहमति अनुसार चिनीको मूल्य प्रतिकेजी ६३ रुपैयाँ कायम गर्न सरकारलाई कडा निर्देशन दिएको हो । समितिले उखु किसानको बक्यौता रकम १५ दिनभित्र उपलब्ध गराउन पनि सरकारलाई सचेत गराएको छ ।

समितिले चिनीलगायतका चाडपर्वका बेला अतिआवश्यकीय वस्तुको मूल्य वृद्धि नियन्त्रण गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको पनि समितिका सभापति शाहले जानकारी दिए । बैठकले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको मूल्य वृद्धिका सम्बन्धमा छानवीन गरी समस्या समाधानका लागि सरकारलाई आवश्यक निर्देशन दिन उपसमिति पनि गठन गरेको छ । सरकारलाई मूल्य वृद्धिका सन्दर्भका आवश्यक निर्देशन दिने गरी प्रतिवेदन तयार पार्न उपसमिति गठन गरिएको पनि सभापति शाहले जानकारी दिए । लेखराज भट्ट नेतृत्वको उपसमितिमा प्रेम आले, पार्वता डिसी चौधरी, चन्दा चौधरी र प्रदिप यादव सदस्य छन् । उपसमितिलाई ७ दिन भित्र आफ्नो प्रतिवेदन समितिमा पेश गर्ने कार्यादेश पनि दिइएको छ ।

उपसमितिले चिनीलगायतका दैनिक उपभोग्य बस्तुको बजार मूल्य सम्बन्धमा विस्तृत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । बैठकमा समितिका सदस्यहरुले चिनीको मूल्य वृद्धि हुने गरी हुनेगरी आयातमा प्रतिबन्ध लगाइएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए । समितिका सदस्य प्रेम आलेले चिनीको मूल्य वृद्धि गर्नेमाथि कडा कार्वाही गर्न पनि सरकारसँग माग गरे ।

समितिका अर्का सदस्य राजेन्द्रकुमार केसीले मनपरी ढंगले मूल्य वृद्धि गर्ने व्यापारीलाई कार्वाहीको दायरामा ल्याउन समितिको कडा निगरानी राख्नुपर्ने माग गरे । उनले दसैं जस्तो चाडपर्वका बेला पनि चिनीलगायतका अतिआवश्यकीय वस्तुको मूल्य बढाउँदा पनि त्यसलाई नियन्त्रण गर्न नसकेको भन्दै सरकारको आलोचना गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.