![]()
एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले प्रभावशाली जित दर्ता गरेको छ । लिग अन्तर्गत अवे मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले कार्डिफ सिटीलाई ५–० ले हराएको हो ।
यो खेलमा यहि सिजन लेस्टर सिटीबाट आएका रियाद महरेजले सिटीका लागि आफ्नो पहिलो र दोस्रो गोल गरे । म्यानचेस्टर सिटीले पहिलो हाफमा तीन गोल गरेको हो भने दोस्रो हाफमा थप दुई गोल । म्यानचेस्टर सिटीबाट ३०० औँ खेल खेलेका सर्जियो अग्युरोले ३२ औँ मिनेटमा गोल गर्दै टिमलाई सुरुवाति अग्रता दिलाए ।
त्यसको तीन मिनेटपछि बर्नार्डो सिल्भाले गोल गर्दै अग्रता दोब्बर पारे । यसैगरी आइकेली गुण्डोगानले ४४ औँ मिनेटमा गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता लियो ।
दोस्रो हाफमा महरेजले आफ्नो कला देखाए । यहि सिजन ६० मिलियन पाउण्डमा क्लब आएका महरेजले ६७ औँ मिनेटमा क्लबका लागि आफ्नो पहिलो गोल गरे । यस्तै उनले ८९ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि सिटी ५–० ले विजयी भयो ।
जितपछि ६ खेलबाट १६ अंक जोडेको म्यानचेस्टर सिटी दोस्रो स्थानमा उक्लिएको छ । पुछारबाट दोस्रो स्थानमा रहेको कार्डिफको मात्रै दुई अंक छ ।


