Breaking News.... EverestOnlineKhabar
August 16, 2026

प्रधानमन्त्री ओली न्यूर्योक प्रस्थान गर्दै ( यस्तो छ कार्यतालिका )

Loading

काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्र सङ्घको महासभाको ७३ औं अधिवेशनमा भाग लिन अमेरिका जाँदै हुनुहुन्छ  । प्रधानमन्त्री ओली नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै यहिआज  न्युयोर्कतर्फ प्रस्थान गर्न लाग्नु भएको हो । उहाँको साथमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य पनि जाने कार्यतालिका रहेको छ ।

असोज ९ गते मंगलबार आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने  (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले विहिवार एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।

प्रधानमन्त्री ओलीले असोज ११ गते बिहीबार संयुक्त राष्ट्र सङ्घको महासभालाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । उहाँले सोही दिन विश्व संस्थाका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता समेत गर्नुहुनेछ ।

प्रधानमन्त्री ओलीले असोज ८ गते सोमबार ‘नेल्सन मन्डेला शान्ति शिखरबैठक’ को रूपमा उच्चस्तरीय पूर्ण बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ । सो बैठक दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाको सम्मानमा उहाँकोे शताब्दीऔँ जन्मदिवसका अवसरमा आयोजना हुनेछ ।

प्रधानमन्त्री ओली तथा श्रीमती शाक्य सोही साँझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा श्रीमती ट्रम्पले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनुहुनेछ ।  उहाँ असोज ९ गते मङ्गलबार संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसले आयोजना गर्नुहुने दिवाभोजमा सहभागी हुनुहुनेछ ।

प्रधामन्त्री ओलीले सोही दिन महासचिव गुटेरेसले आयोजना गर्ने ‘शान्तिका लागि कार्य गर्न उच्चस्तरीय बैठक’ लाई सम्बोधन गर्नुहुनेछ । उहाँले सोही दिन एसिया सोसाइटीमा ‘शान्ति, प्रजातन्त्र तथा विकास’ का विषयमा सार्वजनिक व्याख्यान दिनुहुनेछ । अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुडले उक्त कार्यक्रमलाई निर्देशन दिनुहुनेछ ।

प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्र सङ्घको महासभाका कार्यक्रमका साथसाथै असोज १० गते बुधबार स्विजरल्यान्डका राष्ट्रपति एलेन बर्सेटसँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ ।  उहाँले असोज १२ गते शुक्रबार क्याम्बोडियाका प्रधानमन्त्री सामदेक अर्थात् मोहा सेना पदेई तेको हुन सेनसँग दुई पक्षीय भेटवार्ता गर्नुहुनेछ ।

प्रधानमन्त्री ओली असोज १३ गते शनिबार दुईपक्षीय औपचारिक भ्रमणका क्रममा न्यु योर्कबाट कोस्टा रिकाको सान होजेतर्फ प्रस्थान गर्ने कार्य तालिका छ । उहाँले सान होजेमा कोस्टा रिकाका राष्ट्रपति कार्लोस अल्भाराडो क्वेसाडासँग दुईपक्षीय भेटवार्ता गर्नुहुनेछ । ओलीले सान होजेमै शान्ति विश्वविद्यालय (युनिभर्सिटी फर पिस) लाई सम्बोधन गर्नुहुनेछ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अन्य बैठकका साथै छुट्टै रुपमा असंलग्न अभियानका मुलुकको समूह, ७७ मुलुकका समूह, अल्प विकसित मुलुकका समूह तथा भूपरिवेष्टित विकासशील मुलुकका समूह तथा मध्यस्थताका मित्रका समूहका मन्त्रीस्तरीय बैठकहरुमा भाग लिनुहुनेछ ।

परराष्ट्रमन्त्री ज्ञवालीले असोज ११ गते बिहीबार दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को मन्त्रीस्तरीय अनौपचारिक बैठक आयोजना गर्नुहुनेछ ।  प्रधानमन्त्री ओलीको भ्रमणदलमा उहाँका साथमा परराष्ट्रमन्त्री ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारी रहनु हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.