Breaking News.... EverestOnlineKhabar
June 28, 2026

ला लिगामा हेर्न लायक हुने माल्कोम भनाई

Loading

एजेन्सी,भदौ ।
स्पेनिस क्लब बार्सिलोनाले आफ्नो स्टार खेलाडीहरुको लाइनमा नयाँ नाम थपेको छ, माल्कोम फिलिप सिल्भा डे ओलिभिरा । उनी बार्सिलोनाका लागि मात्रै होइन, स्पेनिस लिग पछ्याउने सबैका लागि नयाँ स्वाद हुने देखिन्छन् । ब्राजिलियनहरु नै उनलाई विलियन र नेमार मिसिएका खेलाडीका रुपमा चिन्छन् । १० वर्षको उमेरमा नै फुटसल टिमबाट चिनिन थालेका माल्कोम कोरिनथियन्समा चार सय खेलाडीको समूहबाट एक्लै छानिएका थिए । माल्कोमले आफ्नो व्यावसायिक फुटबल ब्राजिल साओपाउलोको क्लब कोरिनथियन्समा नै युवा टिममा रहेर सुरु गरेका हुन् ।
माल्कोम सन् २०१४ मा १७ वर्षको उमेरमा फुटबल समर्थक र प्रशिक्षकको नजरमा पर्न थालेका थिए । जतिबेला उनको उत्कृष्ट खेलकै मद्धतमा कोरिनथियन्सले ब्राजिलियन लिग जितेको थियो । माल्कोम आफ्नो १९ औं जन्मदिनको केही अघि २०१६ को जनवरीमा फ्रेन्च क्लब बोर्डियक्स गए ।
लिग वानको १२ खेलमा १ गोल मात्रै हानेका उनी सुरुको केही समय ओझेलमा परे । उनको फ्रान्स बसाइँ गएको दुई सिजन भने सुखद नै रह्यो । दुई सिजनमा गरेर ७२ खेलमा मैदान उत्रिएका उनले आफ्नो गोल क्षमतालाई बढाए । २०१६÷१७ को सिजन सात गोल गरेका उनले गएको सिजन १२ गोल गरे । २१ वर्षका उनी यो सिजन इटालियन क्लब रोमा पुग्नै लाग्दा एकाएक स्पेनिस क्लब बार्सिलोनामा देखा परे । अन्तिम समयमा ४० मिलियन युरोमा बार्सिलोना आएका उनी नयाँ उचाइमा देखिने बताइरहेका छन् ।
माल्कोम ब्राजिलियन सिनियर टिममा नपरेका भए पनि ब्राजिलमा चिनिएका छन् । प्रशिक्षक टिटेको प्रशिक्षणमा लिग जितेर मात्रै होइन, २०१५ मा २० वर्षमुनिको विश्वकपका बेला देखाएको खेलले पनि चर्चित छन् । फाइनलमा सर्बियासँग २–१ ले हारे पनि प्रतियोगिताभर माल्कोमले आफ्नो खेल देखाएका थिए ।
माल्कोम मैदानमा तीब्र देखिन्छन् र छिटोछिटो निर्णय लिन्छन् । विशेष त उनी अट्याकिङ लाइनमा दाहिनेतिर नै बलिया लाग्छन् । विपक्षीहरुको बीचमा पनि उनी जोगिएर पास लिन सक्छन् । उनको ड्रिबलिङ र पासमा एकरुपता नदेखिए पनि त्यसमा सुधार गर्दै जाँदा अझै उत्कृष्ट बन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.