![]()
काठमाडौँ । प्रहरी ‘इन्काउन्टमा मारिएका’ अजय तामाङ र गोपाल तामाङका आफन्तले घटनाको छानविन माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दिएका छन् ।
पेप्सीकोला बस्ने ११ वर्षीय बालक निशान खड्कालाई अपहरण र हत्या गर्ने तामाङद्वयको प्रहरीसँगको मुठभेडमा मारिएका हुन् कि होइनन् भन्ने छानवीन गर्न माग गर्दै परिवारले बुधबार आयोगमा निवेदन दर्ता गराएका हुन् । गोपालका आमाबुवा, बहिनी तथा अजयका बुबा निमा तामाङले आयोगमा निवेदन दिएका हुन् ।
काँडाघारीस्थित डेराबाट आइतबार राति अपहरणमा परेका बालकको मृत्यु भएको पुष्टि सोमबार भएको थियो । त्यस लगत्तै प्रहरीले गोपाल तामाङ र अजय तामाङको भक्तपुरको डोलेश्वरमा ‘इन्काउन्टर’ गरेको जनाएको थियो ।
तर, सोमबार बिहानै प्रहरीले तामाङ द्वयलाई उनीहरु बस्ने कोठाबाट पक्राउ गरी लगेको प्रत्यक्षदर्शीले बयान दिएका थिए । त्यसपछि प्रहरीले अपहरित बालक बचाउन नसकेपछि अपहरणमा संलग्न भनिएका तामाङद्वयलाई मारेको आरोप लागेको छ ।


