![]()
एजेन्सी । अनुहारमा बुर्का लगाएकी एक २८ वर्षे महिला डेनमार्कमा पारित नयाँ कानुनको भागिदार हुने पहिलो व्यक्ति भएकी छिन् । केही समयअघि मात्रै डेनमार्कमा सार्वजनिक स्थानमा अनुहार छोपिने गरी बुर्का लगाउन प्रतिबन्ध लगाउने कानुन ल्याइएको थियो ।
डेनिस समाचार एजेन्सी रिट्जोले दिएको रिपोर्ट अनुसार हरसोल्मस्थीत एक सपिङ्ग सेन्टरमा निकाब लगाएकी २८ वर्षेलाई देखिएपछि कसैले प्रहरी बोलाएको थियो ।
उजुरीपछि प्रहरी आएर महिलालाई समातेर १००० डेनिस क्रोनर(१५६ अमेरिकी डलर) जरिवाना तिरायो । जरिवाना तिराइए पछि पनि उनलाई बुर्का खोल्न वा उक्त स्थानबाट बाहिरन भनियो । महिलाले त्यहाँबाट निस्किने विकल्प रोजिन् ।
अगस्ट १ मा डेनमार्कमा लामो बहसपछि अनुहार छोपेर आँखामात्र देखाइने निकाव वा सम्पूर्ण शरिर छोप्ने अबाया सार्वजनिक स्थानमा प्रयोग गर्न नपाइने कानुन पारित गरिएको थियो । तर दुबै पहिरन डेनमार्कमा आक्कलझुक्कल देखिन्छ ।
सरकारले कानुन कुनै धर्मप्रति लक्षित नभएको बताएको छ । अबाया र निकाबलाई प्रतिबन्ध गरेको भए पनि सरकारले स्कार्फ, पगडी र यहुदीहरुले टाउको लगाउने सानो क्यापलाई भने प्रतिबन्ध लगाएको छैन ।
डेनिस कानुनले मानिसहरु चिसो मौसमको बेला र अन्य कानुनी सर्तहरु पालना गरेर अनुहार ढाक्न अनुमति दिएको छ । यसमा मोटरसाइकल चलाउदा लगाइने हेल्मेट पनि पर्छ ।
कानुनमा कसैलाई निकाब र अबाया लगाउन बाध्य पारिएमा बाध्य पार्नेलाई दुई वर्षको जेल सजायँको व्यवस्था छ । पछिल्ला वर्षहरुमा अष्ट्रिया, फ्रान्स र बेल्जियममा पनि यस्तै कानुनहरु पारित गरिएका छन् ।


