![]()
एजेन्सी । नयाँ सिजनको तयारीमा रहेको स्पेनिस च्याम्पियन बार्सिलोनाले इंग्लिस क्लब टोटनह्यामलाई हराएको छ । अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत अमेरिकाको क्यालिफोर्नियामा भएको खेलमा बार्सिलोनाले टोटनह्यामलाई टाइब्रेकरमा ५–३ ले हराएको हो ।
निर्धारित समयको खेलमा २–२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । बार्सिलोनाका लागि पहिलो हाफमा मुनिर एल हाडाडी र अर्थर रामोस डी ओलिमेइरा मेलोले गोल गरे ।
मुनिरले १५ तथा अर्थरले २९ औँ मिनेटमा गोल गरेका हुन् । दोस्रो हाफमा टोटनह्यामले दुई गोल फर्कायो । उसका लागि सन हेङ–मिनले ७३ तथा जर्ज केविन एन’कोउडाउले ७५ औँ मिनेटमा गोल गरे । त्यसपछि खेल टाइब्रेकरमा धकेलियो ।
पेनाल्टीमा टोटनह्यामका एन्थोनी जर्जिओउले गोल गर्न सकेनन् । तर बार्सिलोनाका माल्कमसहित पाँचैजनाले गोल गरे । माल्कम केही दिनअघि मात्रै बार्सिलोना आएका हुन् ।


